Breaking News Post

ग्यास अभावबारे संसद्‌मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?


२६ श्रावण २०८३, मंगलबार ००:००


काठमाडौँ — बजारमा ग्यास अभाव चुलिएर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारको आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाएका छन् । सत्तारूढ रास्वपाकै सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणको अव्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् भने विपक्षी सांसदहरूले पनि उपभोक्ताले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न माग गरेका छन् । रास्वपा सांसद आशिका तामाङले ग्यास अभावबारे कवितात्मक शैलीमा व्यङ्ग्य कसिन् । थानकोटको मान्छे ग्यासको खाली सिलिन्डर भर्न बालाजु र टेकु धाउनुपर्ने बताउँदै भनिन्, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमाल फेदीमुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो ।’ रास्वपाकै सांसद कुसुम महर्जनले बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी सिर्जना भएको बताइन् । अभावका कारण उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको उनको भनाइ थियो । कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न पनि उनले माग गरिन् । ‘आपूर्ति प्रणालीमा देखिएको संरचनागत समस्या पहिचान गर्नुपर्छ,’ उनले भनिन् । ग्यास कम्पनीलाई तत्काल सबै डिपोमा भएको वितरणको विवरण माग गर्न पनि उनले आग्रह गरिन् ।

रास्वपाकै अर्की सासंद अप्सना बानुले भने ग्यासको अभावलाई सरकारको असफलता मात्रै भन्नु उचित नहुने तर्क गरिन् । ग्यास अभाव उपभोक्ताकै कारण भएको संकेत गर्दै भनिन्, ‘हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा फर्किंदा उपभोक्तामा अनावश्यक सञ्चय गर्दा बजारमा दबाब सिर्जना भयो ।’ उनले सरकारले बजार अनुगमन थप प्रभावकारी बनाउनुपर्ने र दोषी देखिए कारबाही गर्नुपर्ने बताइन् । 

प्रकाशित : २६ श्रावण २०८३, मंगलबार ००:००