Breaking News Post

मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन


३२ असार २०८३, बिहिबार ००:००


३२ असार, जनकपुरधाम । सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ ।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् ।

मिटरब्याज पीडितहरू असार २५ देखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका बेला सरकारसँग निरन्तर वार्ता भइरहेको छ ।

बाराको निजगढमा हालसम्म गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ । यद्यपि आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति हुन नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित : ३२ असार २०८३, बिहिबार ००:००