✍ अजय अलङकार
कुलुङ जातिको मृत आत्मा बस्ने पवित्र स्थानलाई पोम्लालुङ भनिन्छ । पोम्लालुङ कुलुङ भाषामा राखिएको नाम हो। पोम्लाको अर्थ स्वर्गवासीको आत्मा अर्थात मृतात्मा र लुङको अर्थ ढुंगा हो । मृतकको आत्मा अर्थात खाल् – देवताको बासस्थानको रुपमा पोम्लालुङलाई चिनिन्छ । कुलुङहरुको रिदुमी (देवकीय) भाषमा मृतकको आत्मालाई खाल् भन्ने गरिन्छ। कुलुङ संस्कार अनुसार मृतात्मालई बिदा गर्दा पोम्लालुङमा गएर बस्नु भनेर मृत्यु संस्कार गर्ने धामी अर्थात सतिपुसले पठाउने गर्दछन् । पोम्लालुङ सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको ५ नम्बर वडा अन्तर्गत गुदेल, लिम्चोला गाउँ भन्दा केहि माथि घनाजंगलको बीचमा अवस्थित छ। जंगलको बीचमा ठुलो ढुंगाको पहरो रहेको छ । पहरोको फेदमा विशाल ओढारहरु रहेका छन् । ओढारको छेउछाउ निगालो घाडी/झ्याङहरुले घेरिएको छ। उहिले ती ओढारहरु किराती कुलुङ पुर्खाहरुले एउटा सेल्टर घरको रुपमा प्रयोग गरेका किम्बदन्ती रहेको छ । पछि, मानव सभ्यताको विकासक्रमसँगै कुलुङ पुर्खाहरुले त्यो विशाल ओढारलाई कुलुङ भाषामा पोम्लालुङ नामाकरण गरि मृतात्मा राख्ने पवित्र स्थलको रुपमा स्थापित गरेको पाईन्छ। सतिपुस अर्थात धामीहरुले मृतात्मालई पोम्लालुङमा पुर्याउने क्रममा सेकलाम् – दिपालाम् पोम्लाखिम जानु, फप्तेल – मम्तेल जानु भनेर उच्चारण गर्ने गर्दछन्।
किरात कुलुङ जातिका चार पुर्खा मध्ये राताप्खु रावाखोलाबाट महाकुलुङ गुदेल, लिम्चोलाको शीरमा पर्ने दापक्षेत्र पोम्लालुङमा आफ्नो परिवार दुई भाइ छोराहरु जेठा रितिबेल र कान्छा वारिन्दो काचिबुई, शिकारी कुकुर, शिकार गर्ने धनुकाँड लिएर पुगेका थिए। पोम्लालुङमा बसेर शिकार खेल्दै जिविका चलाईरहेका थिए। सोहि समयमा आफ्ना दुई भाई छोराहरु मध्ये कान्छा छोरा वारिन्दो काचिबुइको मृत्यु भएको थियो। त्यसपछि, राताप्खुले वारीन्दो काचिबुइको लासलाई पोम्लालुङमा अन्तिम दाह संस्कार गरेका थिए। बुवा राताप्खुले आफ्नो मृतक कान्छा छोरालाई आफुपनि मरेपछि आफ्नो लास पोम्लालुङ मै पुर्याउन आफ्नो छोरा नातिलाई लगाउने वचन व्यक्त गरेका थिए । र, आफ्नो शाखा सन्तानहरु मरेपछि सबैको मृतात्मालाई पोम्लालुङ मै पठाउने वचन बद्धता व्यक्त गरेका थिए। पछि, राताप्खु र छेम्सीले भुमि साट्ने क्रममा सबै सन्तानहरुको मृतात्मालाई पोम्लालुङमा पुर्याउने सहमति गरेका थिए। सोही अनुसार वारिन्दु काचिबुइको अन्त्यष्टी गर्दा, गरिएको रितिभाँतिलाई पछिका कुलुङ सन्ततिहरुले अपनाउदै ल्याएको पाइन्छ। तत्कालिन समयमा मृत्यु भएका कुलुङहरुको मृत आत्मालाई पोम्लालुङ पठाउने जुन संस्कार गरिएको थियो जो आजसम्म पनि निरन्तर रुपमा साँस्कृतिक तथा धार्मिक संस्कारको रुपमा चलिआएको छ। कुलुङ संस्कार अनुसार मरणका थुप्रै प्रकारहरु रहेका छन् जसमध्ये राम्रो मरण भएका व्यक्तिहरुको मृत आत्मालाई मात्र पोम्लालुङमा खाल् – देवताको रुपमा पुर्याउने गरिन्छ। नराम्रो मरण भएको व्यक्तिको मृत आत्मालाई घाम अस्ताउने र जुन अस्ताउने ठाउँ (निनाम् काम्स्को र लाः काम्स्को) भन्ने ठाउँमा सतिपुस÷धामीको माध्यमबाट पुर्याउने गरिन्छ । समुन्द्री सतहदेखि करिब ३००० मिटरको उचाईमा रहेको पोम्लालुङ २७ डिग्री २८ मिनेट ४५.६६ सेकेण्ड उत्तरी अक्षांस र ८६ डिग्री ५२ मिनेट ३१.८ सेकेण्ड पुर्वी देशान्तरमा अवस्थित छ । सोलुखुम्बु जिल्लाको पुर्वी क्षेत्र महाकुलुङ गाउँपालिकाको वडा नं.५ गूदेलमा पोम्लालूङ रहेतापनि देश तथा विदेशमा बसोबास रहेका कुलुङहरूको ऐतिहासिक आस्था र विश्वासको केन्द्रको रूपमा विकास हुँदै एक साझा सांस्कृतिक सम्पदाको रूपमा स्थापित रहेकोछ । पोम्लालूड्मा इतिहासको कुनै कालखण्डमा कुलुङ पुर्खा राताप्खुले स्थापित गरेको नियम नै आज कुलुङहरूको संस्कार संस्कृति बन्न पुगेको छ ।
कुलुङका चार पुर्खाहरु विषेशगरि छेम्सी, ताम्सी, राताप्खु, खप्दुलु वंशका सन्तानहरूले आफ्नो परिवारका कुनै सदस्यको मृत्यु भएमा उसको मृतात्मालाई एकै स्थान पोम्लालूङमा पठाउने गर्दछन्। यसले यी चार वंशका सन्तानहरू एकै भाषा, एउटै संस्कृति, साथै एकै वंश अर्थात नजिक छन् भन्ने पुष्टि गर्दछ। सबै किरातीहरूको मृत्यु संस्कारमा खाल्डो खनी मृत शरीरलाई गाड्ने चलन रहेको छ । कुलुङ समुदायले कुलुङ भाषामा कुलु रिदुमको माध्यमबाट सतीपूस अर्थात धामी मार्फत मृतात्मालाई बाटो लगाएर अन्तिम बासस्थान पोम्लालूङमा पुर्याउने गरिन्छ । अन्य किराती समुदायले आ–आफ्नो संस्कृति अनुसार सतीपूस अर्थात धामी मार्फत बाटो लगाउने अर्थात् उद्गम स्थल पुर्याउने प्रचलन छ । जस्तैः खालिङ जातिले खुम्बु क्षेत्रको पाङ्बोचे । थुलुङ जातिले कटुञ्जे, बाहिङ जातिले बुगोलडाँडा, चाम्लिङहरुले सिलुछो, साम्पाङहरुले दूधकुण्ड पुर्याउने गर्दछ्न भने बान्तावाहरुले पानी हराउने, पानी सुक्ने तथा उन्युघारी भएको ठाउँमा मृतआत्मालाई पुर्याउने गर्दछन् । जसरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक तथा साँस्कृतिक आस्थाको केन्द्रको रुपमा पशुपतिनाथलाई चिनिन्छ । त्यस्तै बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा लुम्बिनीलाई चिनिन्छ, त्यसरी नै कुलुङ समुदायले पोम्लालुङलाई एक धार्मिक एवं साँस्कृतिक आस्थाको केन्द्रको रुपमा मान्ने गर्दछन्। पोम्लालूूङ क्षेत्रमा कुलुुङ पुुर्खाहरू हजारौ वर्ष अगाडि जिवन निर्वाहका लागि आवत–जावत गरिरहने गर्दथे । जतिखेर वर्तमान समयको जस्तो लिखित अभिलेख राख्ने प्रचलन थिएन । त्यसकारण ठ्याक्कै कति वर्ष अघिदेखि पोम्लालुुङमा मृतात्मालाई बास दिने कार्यको थालनी गरियो भन्ने यकिन गर्न गाह्रो छ । कुलुङ पुर्खाहरुका अनुसार हजारौं वर्ष अगाडि किराती कुलुङ वंशका पुर्खा तुनिलुको श्रीमती तुतुरीमको मृत्यु भएपछि ला.. छोम अर्थात आत्मा पु््याउने रीदुमी संस्कारको प्रचलन सुरु भएको किम्बदन्ती रहेको छ। सम्भवत अनौपचारिक रुपमा त्यहि समयदेखि नै मृत आत्मालाई पोम्लालुङमा पुर्याउने प्रचलन सुरु भएको अनुमान लगाउन सकिन्छ । किराती खम्बूूका सन्तान राताप्खू नाम गरेका कुलुुङ पुर्खाका आफ्ना दुुई छारोहरू (जेठा रीतीबेल र कान्छा वारीन्दो काचीबूई) शिकारको खोजीमा पोम्लालुङमा पुुगेका थिए । उक्त स्थानमा पुुगेपछि कान्छा छोरा वारीन्दो काचीबूूई सिकिस्त विरामी परी मृत्युवरण गरे। बाबुु राताप्खू र दाजुु रीतीबेलले वारीन्दो काचीबेईको मृत शरीरलाई पोम्लालुुङको फेदीमा गाडेर अन्तिम संस्कार गरेका थिए । अन्तिम संस्कार गर्दाका समयमा राताप्खूूले वारीन्दो काचीबेईको चिहान छेउमा बसेर एउटा बाचा गरेका थिए । जुन बाचा अनुसार उप्रान्त आफ्ना परिवारका सदस्यहरूको मृत्यु भएमा तिमीलाई बास दिएकै स्थान पोम्लालुुङमा ल्याउने छौं अहिले एक्लो नमान्नु । हामी सबै यहीँ नै आउने छौंं भनी वारीन्दो काचीबेईको चित्त बुुझाएको भन्ने कुलुङ मिथक रहेको छ। त्यहि वचन बद्धताको कारण अहिले संसारभरिका कुलुङहरुको मृत्युपछि मृत आत्मालाई पोम्लालुङमा नै पुर्याउने गरिन्छ। तत्कालिन अवस्थामा राताप्खू बसेको अन्य भूूगोल, महाकुलुुङमा बसोबास गरि कुलुुङ भाषा बोल्ने, कुलुुङ रीतिरिवाज गर्ने, कुलुुङ उत्पत्तिको कथामा विश्वास राख्ने, किराती खम्बूूका अन्य वंशहरू – खप्दूलू, खप् (ताम्सी र छेम्सी) वंशका करिब १७९ कुलुङ पाछाहरुको मृत्यु भएमा यसै स्थान पोम्लालुङमा मृत आत्मालाई पुर्याउने गरिन्छ।
सतीपूस् भन्नाले कुलुङहरूको मृत्यु संस्कार गर्ने धामी पुजारीलाई जनाउँदछ । सतीपूूसले कूूलूू रीदूूम् अनुसार नाताबम् पहिल्याउँदै सारा खोला–नाला, भिर–पहरा, कुुना– कन्दरा, बन–जंगल, जंगली जनावर, पात–पतिंगर, चरा–चरूङ्गी, पहाड पर्वत, लेक–बेसी, बाटो–घाटो, शत्रुु–मित्रुु, खाने–पिउने, शिकार गर्ने हतियार, पुुजा गर्ने सामग्री, धुप–धुुँवार आदि सबैको बारेमा बखान्दै मृत्यु भएको स्थानदेखी सबै प्रकारको बाधा–विरोध पार गरी मृतकको मृतात्मालाई पोम्लालूङ पुु¥याउने गर्दछन्। यसमा कुनै विधिमा भूलचुक भए वा कुनै ज्ञानमा चुक भइ मृतात्मा पोम्लालुुङमा बास बसाउन नसकेमा पितृको आत्मा भड्कीने र मृतकको परिवारका साथै गाउँभरिकै मानिसहरूलाई दुुःख, पीर दिने गर्दछ भन्ने जनविश्वास रहेको छ । त्यसैले सतीपूूस्ले कुलु रिदुमको विधि अनुसार कार्य एकदमै संवेदनशिलतापूर्वक गर्ने गर्दछन् । पोम्लालूूङ कुलुुङहरूको संंस्कार, संस्कृतिको उत्पत्तिको कथासँग जोडिएको छ । संस्कार र संस्कृति मानव जिवनको अभिन्न अंग हो । मानव शरीरको मृत्युुपश्चातको अर्को लोकमा समेत तिनीहरूको आत्मा सामूहिक रुपमा बस्ने विश्वासको आधार हो पोम्लालुुङ । तसर्थ, कुलुुङहरू विश्वको जुनसुुकै स्थानमा मृत्युुवरण गरेतापनि सतिपुसको माध्यमबाट कूलूू रीदूूम अनुसार मृतकको आत्मालाई पोम्लालूूङमा नै पुर्याएर चिरशान्तिका लागि कामना गर्ने गरिन्छ । मृत्युुको दाहसंस्कारको समयमा सतीपूूस्ले मृतात्मालाई कुनै ठाउ्रँमा नअलमलिई आफ्ना पितृहरू भएको स्थान पोम्लालुुङ सिधैं जान मार्गनिर्देश गर्ने गर्दछन्। यसरी पोम्लालू्रङ मृतात्मालाई पुुर्याउँदा बीच–बीचमा तिर्खा मेटाउन पोम्लाकाउ पिलाउदै त ठाउँठाउँमा विभिन्न फूलहरुको रस चुसाउदै पोम्लालुङमा पुर्याउने गरिन्छ। यसरी पोम्लालूूङ रहेको स्थानलाई महाकुुलुुङ क्षेत्रमा बस्ने कुुलुुङहरूले आदिम्कालदेखी कुलुङका पितृहरूले बास गर्दै आएको आस्था राख्नुले कुुलुुङहरू त्यस क्षेत्रको आदिवासी हुन् भन्ने कुरामा वैज्ञानिक पुष्टि हुन्छ। खोटाङको रावाखोलाबाट हुङवा उपत्यका अर्थात महाकुलुङ क्षेत्र प्रवेश गर्ने कुलुङहरुको चार पुर्खामध्ये छेम्सी पुर्खा पहिले हुलुमा आएर बसेका थिए भने राताप्खु पुर्खा पोम्लालुङमा बसेका थिए। छेम्सी पुर्खाले हुङवा उपत्यका अर्थात महाकुलुङ क्षेत्रमै सबैभन्दा पहिले हुलुमा तोसलुङ गाडेका थिए। राताप्खु पुर्खा पोम्लालुङबाट पछि बोदेलमा झरेर बस्न थाले। बोदेलमा बसोबास गरिरहेका राताप्खु पुर्खा हुलुमा आउने–जाने क्रममा छेम्सी र राताप्खुबीच सहमति गरि भुमि साटेका थिए। त्यसपछि छेम्सी पुर्खा साबिक छेस्काम गाविसको छेम्सी भूमिमा र राताप्खु पुर्खा हुलु क्षेत्रमा बस्न थाले। भुमि साटेसँगै राताप्खु र छेम्सीबीच कुलुङ वंशका आफ्ना सम्पूर्ण शाखा सन्तानहरुको मृत्यु भएपछी उनीहरुको मृत आत्मालाई पोम्लालुङमा राख्ने समहती गरेको किम्बदन्ती रहेको छ। पोम्लालुुङ महाकुुलुुङ क्षेत्रका प्राचिन किरातीका वंश कुुलुुङ जातिले सांस्कृतिक सम्पदाका रूपमा मानि आएको एक पवित्र प्राकृतिक स्थल हो । जुन कुलुुङ समुदायले एक अभिन्न अंगको रूपमा अपनाउदै आएको छ । जसले सामूहिक पहिचानको प्रतिनिधित्व गर्दै सामूूहिक संस्कृतिको अभिव्यक्ति, ज्ञान, सीप र जीवनशैलीलाई उजागर गर्दछ । यो सम्पदा समुदायमा पुस्तौं–पुस्ता हस्तान्तरण हुँदै आएको छ । यसले कुलुुङ जातिको पहिचानलाई आकार दिन र समुदाय भित्रको सम्बन्धको भावनालाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । अमूर्त सम्पदा मानवहरूको साझा अनुभवको एक आवश्यक अंश भएकोले यस पोम्लालुङले सांस्कृतिक विविधता र संस्कृतिप्रतिको बुझाइलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्दै आएकोछ ।
पोम्लालूङको पूर्वमा सिलुछो पिक र साल्पा पोखरी देखिन्छ भने शिरमा साउनेछो पिक रहेको छ। उक्त ठाउँबाट सगरमाथा, मकालु, बरून्चे, चारपाते, मेरापिक, चाम्लाङलगायत एकदर्जन भन्दा बढी हिमालहरू देख्न सकिन्छ । साथै, पोम्लालुङबाट केन्पा, गबीत्ता, बूकूरपीक र घ्याङखर्क लगायत विभिन्न सुन्दर पर्यटकीय गन्तव्यहरू देख्न सकिन्छ।गूदेलबाट पोम्लालुङ हुँदै साउनेछो सम्मको पर्यटकीय पदमार्ग विगत आ.व. २०७५÷७६ देखी तत्कालिन संघिय सांसद हेम कुमार राई (सुरवीर) को सांसद कोषको बजेटबाट निर्माण कार्य भइरहेको छ । हाल परम्परागत गोरेटोे बाटोबाटै पर्यटकहरू जान सक्दछन् । राष्ट्रिय महत्वका साथ निर्माणाधिन मुन्धुम ट्रेल पनि पोम्लालुङ नजिकै आइपुगेको छ । यस क्षेत्रमा चैत्र÷वैशाखमा बढी पर्यटकहरू जाने गर्दछन् । जुनबेला विभिन्न खालका गुराँसहरू चिमाल, परलींगा, सेतो गुराँस, रातो गुराँस फूल्ने गर्दछन्। यस क्षेत्रमा जिवजन्तुहरु मृग, हरिन, घोरल, कस्तुरी, नील गाई, बाघ–भालु, लोखर्के, दुम्सी, स्याल, बाँदर, रेडपाण्डा, बँदेल जस्ता पाईन्छन्। चराचुरुङगीहरुमा कालिज, डाँफे, मुनाल, लाँचे, ढुकुर जस्ता पाईन्छन् । जडीबुटीहरूमा – सिलाजित, चिरैतो, तितेपाती, जटामसी, वनलसुन, च्याउ, तेजपत्ता, मछिनो, सतुवा आदि पाईन्छन् भने बोटबिरुवाहरू हाब्रेसल्ला, गोब्रेसल्ला, लालीगुराँस, कटुस्, मालिंगो, अल्लो आदि पाइन्छ । पोम्लालुङलार्ई कुुनै एक समुदायमा मात्र सिमित नराखी विश्वव्यापीकरण गरेर दिगो संरक्षण गर्न सकिन्छ । यसका लागि अमूूर्त सम्पदालाई विश्वसम्पदाको सूचीमा सूूचीकृत गर्नु पर्दछ। विश्वसम्पदाको सूचीमा राख्ने कार्य संयुक्त राष्ट्रसंघको एक अभिन्न अंग यूनेस्कोले गर्दै आएको छ । अमूूर्त सम्पदालाई विश्व सम्पदाको सूचीमा राख्न युनेस्कोलाई सरकारले सिफारिस गर्दछ । अमूूर्त सम्पदा पोम्लालुङलाई विश्वसम्पदा सूूचीमा सूूचीकृत गर्न सकियो भने समुदाय र समग्र देशलाई नै दिर्घकालिन रुपमा फाइदा पुग्दछ। समुदायमा दिगो विकास र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न मद्दत पुग्दछ। पोम्लालुङ जस्ता अमूर्त सम्पदाको बारेमा सामाजिक, सांस्कृतिक एवं धार्मिक हिसाबले पर्यटकहरूलाई आकर्षित गर्ने र स्थानीय व्यवसायहरूको लागि आय आर्जन गर्न सकिन्छ । भावी पुस्ताले पोम्लालुङ जस्ता सयौं आफ्नो सांस्कृतिक सम्पदाको बारेमा थाहा पाउने र त्यससँग सम्बन्धीत विविध धार्मिक तथा संस्कृतिक ज्ञान प्राप्त गर्न सक्दछन्। भौतिक रूपमा झट्ट हेर्दा पोम्लालूूङ एक विशाल चट्टान, भीर तथा पहाड जस्तो देखिन्छ ।
यो करिब २६.३७ बिघा (१७.८२ हेक्टर) को क्षेत्रफलमा फैलिएको छ। यस पोम्लालुङलाई कुलुङ धार्मिक क्षत्रको रुपमा सुरक्षित गरिएको छ। विस २०६५ सालमा तत्कालिन गुदेल गाविसको बजेट २० हजार रुपैयाबाट गुदेल निवासी छलक राम कुलुङको संयोजकत्वमा पोम्लालुङको चारकुनाबाट ढुंगाको पर्खाल लगाएर चौघेरा लगाई पोम्लालूङ एरिया सुरक्षित गर्ने कार्यको सुरुवात भएको थियो। त्यसपछि नेपालमा संघियता लागु भएसंगै स्थानीय सरकार महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा १३ लाख बजेत विनियोजन गरि गोरेटो बाटो (पर्यटन पदमार्ग) निर्माण गरिएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा महाकुलुङ गाउँपालिकाबाटै १५ लाख बजेट विनियोजन गरि, विसं २०७७ सालको श्रावण महिनामा गुदेल निवासी नरेन्द्र बहादुर होदिबु कुलुङको अध्यक्ष्यतामा पोम्लालुङ संरक्षण समिति गठन गरि सोही समिति मार्फत ढुंगाको घेराभारको काम सुरु भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले क्रमागत बजेट १० लाख रुपैया विनियोजन गरि घेराभारको काम निरन्तर रुपमा गरिएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा ८ लाख रुपैयाँ बराबरको बजेटबाट घेराभार लगाउने काम भएको थियो। संघीय सांसद एवं नेपाल सरकारमा रक्षामन्त्री मा. मानवीर राईको पहलकदमीमा आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित संघीय बजेट ४५ लाख रुपैयाँबाट पोम्लालुङ घेराभारको काम पुरै एक फन्को परिक्रमा सम्पन्न भएको छ। विसं २०८१ साल असार १४ गते पोम्लालुङ (देव दुंगा) संरक्षण सामुदायिक संस्थाको नाममा आधिकारिक रुपमा दर्ता भई, जिल्ला डिभिजन वन कार्यलय सोलुखुम्बुले १७.८२ हेक्टर क्षेत्रफल बराबरको धार्मिक क्षेत्रको रुपमा मान्यता दिईसकेको छ। स्थानीय आदिवासी किराती कुलुङहरूको मानवीय सम्वेदना बोकेको पोम्लालूङ केवल कुलुङ जातिको मात्र सम्झिनु संकिर्णता हुनेछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को सांस्कृतिक विविधता सम्बन्धीको विश्वव्यापि घोषणापत्रका अनुसार पोम्लालूङ र पोम्लालूङजस्ता सम्पदाहरू जहाँकहिँ भएपनि त्यो राष्ट्र र विश्वको सम्पदा हो। तसर्थ पोम्लालूङको संरक्षण तथा प्रवद्र्धन गर्नु हामी सबैको दायित्व भित्र पर्दछ।











प्रतिक्रिया