Breaking News Post

गगनलाई कृष्ण सिटौलाको आग्रह- पार्टी एकताका लागि अकपट बन्नुस्, रोक्नेलाई धकेल्नुस्


६ श्रावण २०८३, बुधबार ००:००


६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई पकट नगरी पार्टी एकताको वातावरण बनाउन आग्रह गरेका छन् । ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित इतर पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो आग्रह गरेका हुन् ।

‘अझै पनि भन्न चाहन्छौं, तपाईँ गगन थापा सहासी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्,’ सिटौलाले भने, ‘तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईँ पट्टी आउन नदिनुस् । यति आँट छैन तपाईँमा ?’

इतर पक्षले कुनै छलछाम नगरेको पनि सिटौलाले बताए । ‘हामी छलछाम गरिरहेका छैनौं । यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले भनेका छौं, एउटा भेला हुन्छ राष्ट्रिय भेला । नयाँ कार्यदिशा तय हुन्छ । के हो नयाँ कार्यदिशा ? सबले बुझ्छन्,’ उनले भने ।

सबै कुरा आफूहरूले छलछाम नगरेर प्रष्ट भनिरहेको उनले बताए ।

प्रकाशित : ६ श्रावण २०८३, बुधबार ००:००