काठमाडौं, नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराएको हो । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पुजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी ४ रनमा अविजित रहिन् । मलेसियाकी मार्सियाले ३ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो ।
नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १-१ विकेट हात पारे ।
पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् । उनले ४ खेलमा ९ विकेट लिइन् ।
अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् । नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।











प्रतिक्रिया