Uncategorized

एक करोड राशीको बिष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा


१३ जेष्ठ २०८२, सोमबार ००:००


जेठ १२,काठमाडौँ

एक करोड रूपैयाँको प्राज्ञिक कोष घोषणा तथा प्राज्ञिक पुरस्कार सम्मान कार्यक्रम सम्पन्न भएको छ।
‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ मा एक करोड घोषणा तथा प्राज्ञिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो।
गत जेठ १० गते ललितपुरको तिखेदेवल स्थित सयल बाटिकामा एक विशेष कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार घोषणा सहित सर्जकका परिवार लाई नगद रु: १ लाख सहित पुरस्कार बितरण गरिएको हो।

लिम्बुवानको हाङ्पाङ, ताप्लेजुङ स्थायी थातथलो भई हाल क्यानडामा रहनु भएका महान समाजसेवी विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती आङ्बुहाङ परिवारको सहकार्यमा वि.सं. २०७३ सालमा अध्ययन केन्द्रको एक विनियमावली बनाई सोही अनुसार रू. ५० लाखको ‘विष्णुत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ स्थापना गरिएको थियो । उक्त कोषबाट वर्षेनी दुईजना महिला–पुरुष अध्येतालाई अनुसन्धानवृत्ति, एक अध्येतालाई विद्वतवृति र प्रत्येक दुई–दुईवर्षमा एक प्रकाशित कृतिलाई प्राज्ञिक पुरस्कार प्रदान गरिँदै आएको छ ।


यस वर्ष २०८०–०८१ को ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ् प्राज्ञिक पुरस्कार २०८१’ पौवा सारताप, पान्थर, लिम्बुवान स्थायी थातथलो भई ललितपुर २६ चिबहाल, सुनाकोठीमा बसेर प्राज्ञिक कर्म गर्दै आउनु भएका स्व. कृष्ण विक्रम नेम्बाङ लिखित तथा मुन्धुम एकाडेमीबाट प्रकाशित कृति ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध (२०८०) लाई नियमानुसार रू. १,००,०००।– (एकलाख रूपैयाँ) र प्रमाण–पत्र प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र कोषदाताको संयुक्त बाहुलीबाट पुरस्कृत स्व. नेम्बाङ्का सुपुत्र धर्मेन्द्र नेम्बाङ लाई हस्तान्तरण गरिएको थियो।
पुरस्कृत पुस्तकमा लेखकले याक्थुङ लिम्बूजातिको इतिहास पहिल्याउन लिम्बूसँग जोडिने तिब्बती, लेप्चा, कोच, सेन र रायसँगको वास्तविक सम्बन्धलाई खुट्याएका छन् । वि.सं. १९९८ चैत्र ६ गते पान्थरको पौवा सारतापमा जन्मनुभएका नेम्बाङ्को यो कृति प्रकाशित भएलगतै वि.सं. २०८० मङ्सिर ३ गते निधन भइसकेको छ ।

लिम्बुवान अध्ययन केन्द्र किरात याक्थुङ चुम्लुङको एक विषयगत सङ्गठन हो । यसको स्थापना २०७० साल पुस १४ गते भएको हो । यो अध्ययन केन्द्र एक विशुद्ध प्राज्ञिक संस्था हो । यसले लिम्बुवानका आदिवासी ज्ञान, सीप र इतिहास तथा सांस्कृतिक, सामाजिक, भाषिक, आर्थिक, शैक्षिक एवम् मौखिक परम्परा मुन्धुम लगायतका विविध पक्षहरूमा बहस, अध्ययन, अनुसन्धान र प्रकाशनको कार्य गर्दै आएको छ ।

लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’लाई अझ सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न पहिले राखिएको रू. ५० लाखको कोष अपर्याप्त महसुस गरी कोषदाता आङ्बुहाङ् परिवारबाटै थप रू. ५० लाख को चेक लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङनाम लाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुले कोषदाता आङ्बुहाङ परिवारको उदार दिल र सहयोगी मन लाई खुलेर प्रशंसा गरेका थिए।
उक्त कोष घोषणा तथा पुरस्कार बितरण कार्यक्रममा राजनैतिक,सामाजिक,कला गित सङ्गीत तथा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

बिस्तृत भिडियोमा

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार ००:००