खेलकुद

इतिहासकै खराब फर्मबाट गुज्रिए हालान्ड


१२ पुस २०८१, शुक्रबार ००:००


काठमाडौं, म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले पछिल्लो खेलमा क्लबका लागि राम्रो गर्न सकेका छैनन् । पछिल्ला ७ खेलमा उनले सबै प्रतियोगितामा गरेर १ गोल मात्र गरेका छन् ।

पछिल्ला चार खेलमा त उनी गोलविहीन नै छन् । हालान्ड मात्र नभएर उनको क्लब सिटी पनि इतिहासकै खराब फर्मबाट गुज्रिरहेको छ । सिटीले सबै प्रतियोगिता गरेर पछिल्ला १३ खेलमा १ जित मात्र निकालेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको सम्झौता नवीकरण गरेको समयदेखि सिटी ओरालो यात्रामा छ ।

यसले क्लबमा पेप र हालान्ड दुवैको अबको यात्रा अनिश्चित बनाएको छ । विशेषगरी पछिल्लो समयमा पेप र हालान्डबीच बढ्दो दरारका बिच फुटबल विश्लेषकहरूले सिटीमा हालान्डको भविष्यबारे टिप्पणी गर्न थालिरहेका छन् । यसैबीचमा उनी बार्सिलोना जान खोजिरहेको विषय पनि चर्चामा छ ।

सिटीले यो सिजनको सुरूवात राम्रो गरेको भएपनि त्यसपछि उसको फर्ममा नाटकीय रूपमा गिरावट आएको छ । पछिल्ला ९ प्रिमियर लिग खेलमा १ खेल मात्र जितेको सिटी हाल १८ खेलमा २८ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित : १२ पुस २०८१, शुक्रबार ००:००