Breaking News Post

साल्पा र सिलुछोबारे कुलुङ रिदुमी ७ मिथक र विश्वास ।।


१४ असार २०८२, शनिबार ००:००


✍ अजय अलङकार

कुलुङ मुन्दुम/रिदुममा साल्पा र सिलुछोलाई फरक नामले पुकार्ने गरिन्छ । सिलुछोलाई : सिलुछो हिफाछो, छेचिखा छोवाङमा । र साल्पालाई : सेकुवा दिपावा, सुम्नीवा ताम्नीवा/साल्पावा दिरित्ती फोङमालु तोबुवा, भनेर भनिन्छ, जसलाई कुलुङ भाषामा दफ्निङ् भन्ने गरिन्छ । मानव सभ्यताको विकासक्रमसँगै किरातीहरुले शिकारी युगमा प्रवेश गर्ने क्रममा थुप्रै सभ्यता र सँस्कृति मुन्दुम/रिदुम/होदुमको विकास भएको पाईन्छ । कुलुङ जातिका एक शिकारी पुर्खा राताप्खु आफ्नो छोराहरु रितिवेल र वारिन्दो काचिबुई सहित वर्तमान खोटाङ जिल्लाको रावाखोलाबाट शिकार गर्दै पहाडरलेकतिर जाने क्रममा हाल सोलुखुम्बुको ग्याङखर्क डाँडा, रनु, वाख्खा हुँदै कुलुपोङखो निस्केर साल्पा पोखरीको छेउमा शिकार मारेका थिए । त्यसपछि शिकारलाई भाग भण्डा लाएर विधिविधान गरेका थिए । जसलाई कुलुङ भाषामा साः हाल्म भनिन्छ । यहि साः हाल्म शब्दबाट त्यो एरिया अर्थात भू–भागको नाम साल्पा भएको कतिपय कुलुङ पुर्खाहरुको तर्क रहेको छ । त्यहि साः हाल्म शब्दलाई कुलुङ सँस्कृति रिदुम/मुन्दुममा दिबुरिम (दिबुखा तोबुखा) भनिन्छ । र, कुलुङहरुले वर्तमान अवस्थामा पनि जंगली जीवजन्तु तथा चराचुरुङ्गीको शिकार गरेर दिबुरिम मुन्दुम/रिदुम गर्ने गर्दछन् । साल्पाको छेवैमा रहेर राताप्खुले साः हाल्म/शिकारको विधिविधान गर्दा शिकारको मुटु, कलेजो, कान, मुख र हात–खुट्टाको थोरै भाग मालिङगोको चुचुम्बीमा उनेर सबै भन्दा माथि चुचुरा हिमाल कैलाशमा मोलु र शिकारीले बास गर्ने सामाजिक मान्यता अनुरुप सिलुछोको चुचुरोमा त्यो चुचुम्बी चढाएर कुलुङ संस्कृति रिदुम/मुन्दुम मोलु र शिकारीलाई पुज्ने/चुचुम्बी चढाउने काम कुलुङ पुर्खा राताप्खुले गरेका थिए । त्यहि रिदुम/मुन्दुम मोलु र शिकारी पुज्ने प्रचलन वर्तमान समयमा पनि कुलुङ सस्कृतिमा प्रचलित/जिवित रहेको छ ।

कुलुपोङखोबाट साल्पा पोखरी करिब २० मिनेटको दुरीमा अवस्थित छ । चारैतिर पहाडले घेरेको लाम्चो आकारको साल्पा पोखरीप्रति किरात कुलुङ समुदायमा धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपले ठुलो श्रद्घा र विश्वास रहेको छ । कुलुङ सेलेमोप् र देःमोप् धामीहरुको शिर उठाउने पवित्र स्थल साथै धामी बिजुवाहरुलाई समेत शक्ति प्रदान गर्ने गुरुको रुपमा साल्पा र सिलुछोलाई सम्बोधन गरेको पाइन्छ । कुलुङ भाषामा शिर उठाउने शब्दलाई साइपोम् भनिन्छ । साइपोम् शब्द अपभ्रंश हुँदै जाँदा साइपो/साल्पो हुँदै कालान्तरमा साइपो/साल्पोबाट साल्पा भएको मानिन्छ ।  किरात कुलुङ भाषामा (लाम्चो आकार) जनाउने शब्दलाई (स–सल्पा) भनिन्छ । साल्पा पोखरीको नाम कुलुङ भाषाबाट स–सल्पा पोक्ःरी भनिन्थ्यो पछि अपभ्रंश भएर स–सल्पाबाट साल्पा भनिएको हो । कुलुङ रिदुम/मुन्दुममा साल्पासँगै सिलुछोको नाम जोडिएको पाईन्छ । सिलुछो शब्द अपभ्रंश भएर सिलिछो भएको हो । त्यसैअनुरुप, साल्पा सिलिछो नामबाट भोजपुर जिल्लाको तत्कालिन चार वटा गाविसहरु दोभाने, कुलुङ, खाटाम्मा र चौकीडाँडा मिलेर साल्पा सिलिछो गाउँपालिकाको नामाकरण गरिएको हो । त्यस्तै सिलुछो चुचुराकै नामबाट संखुवासभाको सिलिचोङ गाउँपालिकाको नामाङ्कन पनि गरिएको हो । अन्य किराती समुदायले सिलुछोलाई सिलिचोङ/सिलिचुङ भनेर उच्चारण गरेको पाईन्छ । आदिबासी किरात कुलुङ भाषामा राखिएको नाम हो सिलुछो । सि को अर्थ सिङ–दाउरा/रुख, लु को अर्थ लुङ–ढुंगा र छो को अर्थ शिर वा चुचुरा भन्ने हुन्छ । यसरी विभिन्न (सिङ–लुङ = दाउरा/रुख, ढुंगा) (दाम्ःरो–सिम्ःरो = भीर–पाखा) (सान्मा–बुक्मा = झ्यास–घारी) (योउ–सोगो = खोला–वनजंगल) भन्दा निक्कै माथि शिरमा रहेकोले सिलुछो भनिएको हो । कतिपय स्थानीय कुलुङ पुर्खाहरुले सिलुको अर्थ जमिन वा भू–भाग र छोः को अर्थ शिर वा चुचुरा भनेर भन्ने गरेको पाईन्छ । समग्रमा जमिन अर्थात भू–भागको शिर नै सिलुछो हो ।

कुलुङ मिथक अनुसार निनाम्रिदुम र पारुपाले सबैभन्दा पहिला मानव सृष्टि तुम्नोको गरेका थिए । तुम्नो जन्मिएको ठाउँको नाम मिनापोङखो–हाल्खुम्बु भएको थियो । कुलुङ भाषामा मिना/मिनाङाली भन्नाले मान्छे/मान्छेको स्वरुप र पोङखो/पोख्को भन्नाले उत्पति/सृष्टि भन्ने बुझिन्छ । त्यस्तै, कुलुपोङखोको अर्थ कुलु भन्नाले कुलुङ र पोङखो भन्नाले उत्पति÷सृष्टि भन्ने अर्थ हुन्छ । समग्रमा कुलुङ जातिको पुर्खाहरुले खोरिया फार्दै बिस्तार गरेको अर्थात फैलिएर बसेको ठाउँ/भूगोलको नाम कुलुपोङखो रहन गएको हो । त्यसैले कुलुङहरुले कुलुपोङ्खोलाई एक ऐतिहासिक सभ्यताको रुपमा मान्ने गर्दछन् । र, वर्तमान अवस्थामा पनि कुलुपोङखो डाँडामा कुलुङहरु पुग्ने वित्तिकै शिर निहुँराएर कुलुपोङखोलाई ढोक्ने/पुज्ने गर्दछन् । किराती किम्बदन्ती अनुसार साल्पा र बराह दुई दिदीबहिनी किराती चेलीहरु थिए । पहिले उनीहरु मैदानतिर बस्दथे । कलिले सताउन थालेपछि दुवैजना चोखो र पवित्र ठाउँको खोजीमा हिमाल पर्वततिर लागेका थिए । दिदी अघिअघि र बहिनी पछिपछि अघि बढ्दाबढ्दै वर्तमान खोटाङ जिल्लाको बराहपोखरी भएको स्थानमा पुगेपछि बहिनी बराहलाई कलिले छोएछ । र, बहिनी बिरामी भएर त्यहि मरेछन् । त्यसपछि दिदी भागेर साल्पाको नजिक पुगेर बसेपछि पोखरीको नाम पनि साल्पा रहन गएको भन्ने किम्बदन्ती रहेको छ । शत्रुबाट बच्न सफल उनै किराती चेलीको सम्मानमा साल्पा पोखरीलाई चोखो अनि पवित्र स्थलको रुपमा पुज्न थालेको विश्वास छ ।

भूमि, भाषा र जाति परिपुरक मानिन्छ । जुन भूमिमा जुन जातिको आदिमकालदेखि बसोबास रेहेको छ, त्यहि जातिकै भाषामा सोहि भूमि वा भूगोलको नाम रहेको पाईन्छ । कुलुङ वंशावली अनुसार रोदु किरातका दाजुभाइहरु मध्ये खम्बुहोङ वंशका दिस्मी हुँदै, खप् हुँदै कुलुङ जातिको पुर्खा छेम्सी मिनापोङखो हाल्खुम्बुबाट दुधकोशीको किनारै किनार आएर खोटाङको रावाखोलामा बसेका थिए । त्यसपछि सोलुखुम्बुको सोताङ हुलुमा आएर बसेका थिए । छेम्सीले राताप्खुसँग भूमि साटेपछि दाजु ताम्सीलाई रावाखोलामा लिन गएर महाकुलुङको छेस्काममा ल्याएर दाजुलाई छोडेका थिए । त्यसपछि पुनः छेम्सी रावाखोला फर्कदा खालिङको पुर्खा माप्यासँग भेट भएको थियो । दुवैजनाले खुवोलु लाम्छाम्मा जाने सल्लाह गरेर छेम्सी र माप्या खुवोलु लाम्छाम्मा गएका थिए । खुवोलु लाम्छाम्माबाट दुई पुर्खाहरु अरुण नदि आसपास हुँदै कार्तिकेघाट निस्केका थिए । कार्तिकेघाटबाट संखुवाखोलाको शिर खेइम्पालुङ हुँदै साल्पापोखरी, सिलुछो र कुलुपोङखो निस्केका थिए । त्यसपछि महाकुलुङ भूमिको गुदेल पुगेर गुदेलबाट कोङकेलुछो हुँदै पाँचपोखरी पुगेका थिए । माप्या पाँचपोखरी कटेर पाङबोचेतिर लागेका थिए भने कुलुङको पुर्खा छेम्सी पाँचपोखरी पार गर्न नसकेर वर्तमान महाकुलुङ भूमिको छेम्सीमा आएर त्यहाँबाट बिस्तार भएको कुलुङ मिथक रहेको छ । महाकुलुङ भूमि र आसपासका क्षेत्रमा मानव सभ्यताको विकासक्रम तीनै छेम्सी, ताम्सी, खप्दुलु, राताप्खु र माप्या यीनै पाँच पुर्खाकै पालादेखि भएको देखिन्छ । ती पुर्खाहरुको नामसँगै थुप्रै भूगोल वा भूमिको नामको विकास भएको र थुप्रै सभ्यताको विकास भएको देखिन्छ । त्यसैले, कुलुपोङखो, साल्पा र सिलुछोको नामाकरण पनि त्यहि छेम्सी र माप्या पुर्खाहरुकै पालामा भएको मान्न सकिन्छ । साल्पा पोखरीमा पानी बाहिर जाने दुई वटा बाटो रहेको छ । पानीको सतह कहिले पुर्व भोजपुरतिर बग्छ भने कहिले पश्चिम सोलुखुम्बुतिर बग्ने वा कम हुने गर्दछ । जतापट्टि पोखरीको सतह घट्छ त्यो साल त्यतैपट्टिको गाउँमा अनिकाल पर्ने, अन्नबाली तथा पशुपालन राम्रो नहुने, समाजमा रोगव्याधी फैलिने जनविश्वास रहेको छ । जसले गर्दा साल्पालाई किरात कुलुङ समुदायले आफ्नो भाग्यरेखा छुट्टयाउने पुख्र्यौली देवताको प्रतिकको रुपमा समेत मान्ने कुलुङ रिदुम/मुन्दुम रहेको छ ।

प्रकाशित : १४ असार २०८२, शनिबार ००:००