Breaking News Post

मुग्लिन-नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, पटक-पटक राजमार्ग अव


१२ श्रावण २०८३, मंगलबार ००:००


१२ साउन, काठमाडौं । मंगलबार मुलुकको मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड पटक पटक अवरुद्ध भयो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ७:३० बजे पहिलो पटक सडक बन्द भएको थियो ।

कार्यालयका अनुसार यस सडकखण्डको खहरे खोलामा गएको पहिरोले आज दिनभरिजसो यातायात प्रभावित भयो । यस खण्डमा आज देखिएको पहिरो नयाँ हो । यो स्थान मुग्लिन बजार नजिकै छ ।

यसअघि नियमित पहिरो र ढुङ्गा खसिरहने स्थानभन्दा नयाँ स्थानमा पहिरो सुरु भएका कारण यो स्थानमा पहिरोको जोखिम उच्च बनेको हो ।

कार्यालयका अनुसार आज बिहान करिब ५ घण्टा अवरुद्ध भएको राजमार्ग साढे १ बजेमात्र सञ्चालनमा आएको थियो । तर, दिउँसो ३ बजेदेखि सोही स्थानमा पुन: पहिरो खस्यो । उक्त पहिरो करिब एक घण्टा लगाएर सफा गरेपछि पुन: सुरु भएको यातायात साँझ ६ बजे अवरुद्ध भयो । फेरि अवरुद्ध भएको सडक पुन: सञ्चालनमा आएको छ ।

 

कार्यालयले पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा यातायात नचलाउन समेत सचेत गराएको छ । साथै, जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडक खण्डमा आज राति ८ देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक समेत लगाएको छ ।

मुग्लिन-नारायणगढ खण्ड सुक्खा पहिरोको सबैभन्दा बढी जोखिमयुक्त सडक बनेको छ । यस खण्डमा सोमबार दिउँसो १७ किलो भन्ने स्थानमा ठूल्ठूला ढुङ्गा खस्दा दुई घण्टाभन्दा बढी समय राजमार्ग अवरुद्ध भएको थियो ।

सोही सडक खण्डमा सोमबार बिहान सिमलताल नजिकै पहिरो खसेर यातायात अवरुद्ध भएको थियो । बिहान ६ बजे अवरुद्ध भएको सडक आधा खण्टामा खुलाइएको थियो ।

गत शनिबार यस सडकखण्डको गाईघाट नजिकै माथिबाट ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । कार्यालयका अनुसार यो सडकमा जलवीरे, तुइन खोलाजस्ता स्थान पहिरोको सबैभन्दा बढी जोखिममा छन् ।

सडक डिभिजन कार्यालयले यस सडकखण्डका दुई दर्जन स्थानमा पहिरोको जोखिम रहेको निष्कर्ष निकालेको छ । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र सबैभन्दा बढी जोखिममा रहेका क्षेत्र हुन् ।

यसबाहेक गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल जलवीरे र पाँचकिलो क्षेत्रसमेत बढी पहिरोग्रस्त क्षेत्रका रूपमा पहिचान गरिएका छन् । सडक विभागका अनुसार यस खण्डमा हरेक वर्ष नयाँ–नयाँ क्षेत्रमा जाने पहिरोले चुनौती थपिरहेको छ ।

सडक विभागका अनुसार अहिले देशभरि सडक अवरुद्ध हुन सक्ने अवस्था मध्यनजर गर्दै २ सय ७७ वटा मेसिन तयारी अवस्थामा राखिएका छन् । जसलाई विभिन्न हेभी इक्विपमेन्ट डिभिजन कार्यालय मार्फत परिचालन गरिन्छ ।

जसले गर्दा सडक अवरुद्ध हुँदा तत्काल सफा गर्ने काममा भने तीव्रता दिइएको छ । विभागका अनुसार सडक डिभिजन कार्यालयहरूसँगको समन्वयमा यस्ता मेसिन परिचालन गरेर यातायात सञ्चालन गर्ने गरिएको छ ।

यस पटक पहिरोलाई प्राथमिकता दिएर बजेट राखिएको छ । व्यवस्थापन र नियन्त्रण गर्न बजेट उपशीर्षक कायम गरिएको छ । ६०/७० पहिरो पहिचान गरी ३ अर्ब बजेट समेत राखिएको छ । पहिचान भएकामध्ये कतिपय अध्ययन गर्नुपर्ने र कतिपयमा भने सिधै काम गर्न सकिने अवस्था छ ।

मुग्लिन-नारायणगढ सडक खण्ड संघीय राजधानी काठमाडौंलाई अन्य भेगसँग जोड्ने मुख्य सडकखण्ड हो । केही वर्षअघि यो सडक स्तरोन्नति गरिएको थियो । त्यसपछि सडकमा पहिरोको जोखिम बढ्दो छ । विज्ञका अनुसार लामो समयदेखि स्थिर चट्टानी पहाड फोरेर सडक विस्तार भइसकेपछि पहिरोको जोखिम बढेको हो ।

 

प्रकाशित : १२ श्रावण २०८३, मंगलबार ००:००