गृह पृष्ठ

निर्वाचित प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : उपाध्यक्ष भुसाल


१० फाल्गुन २०८१, शनिबार ००:००


नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसालले माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को पक्षमा संविधान संशोधनको मुद्दा अघि सारेको बताएकी छन् । प्रेस सेन्टर नेपालद्वारा सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष भुसालले व्यवस्था फेरिए पनि अवस्था नफेरिएकाले माओवादीको अबको मुद्दा यहि हुने उल्लेख गरेकी हुन् ।

८४ को निर्वाचनमा माओवादीले २०६४ जस्तै मत ल्याएर देशको पहिलो शक्ति बन्ने उनको दाबी थियो । त्यसका लागि माओवादीले अब जनतासँग माओवादी अभियान लिएर तल्लो तहसम्म जान लागेको बताइन् । विगतमा भएका कमीकमजोरी जनतामा गएर सच्याउने र माओवादी रूपान्तरण हुने उनको भनाई थियो ।

विगतमा माओवादीलाई सहयोग गरेका सहिद तथा बेपत्ता पारिएकाका परिवारसहित जनतासँग सम्बन्ध बलियो बनाएर माओवादी आगामी चुनावमा पहिलो पार्टी बन्ने गरी होमिएको दाबी गरिन् । उनले भने ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन।

भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन। सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन। सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको शासन व्यवस्थाले त्यसतर्फ ध्यान दिइरहेको छै जसले गर्दा नीतिगत भ्रष्टाचारसमेत मौलाएको छ ।’

समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई छ। सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सके मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने उनले बताइन् ।

‘माओवादी सरकारले भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न हामी दृढ थियौँ। लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि माओवादी सरकारले गर्‍यो। यस्ता कदमले जनतालाई सही दिशा देखाउने कार्य गरेको थियो,’ उनले भनिन् ।

प्रकाशित : १० फाल्गुन २०८१, शनिबार ००:००