Breaking News Post

साल्पा, सिलुछो र कुलुपोङखोबारे कुलुङ रिदुमी मिथक र जनविश्वास


२ असार २०८२, सोमबार ००:००


✍अजय अलङकार

भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बु जिल्लाको संगमस्थलका रुपमा कुलुपोङखो, साल्पा पोखरी र सिलुछो/सिलिछोलाई मानिन्छ । साल्पा र सिलुछो आदिबासी किरात कुलुङ जातिको धार्मिक तथा साँस्कृतिक आस्थाको धरोहर हो । यसको अस्तित्वसँग किराती कुलुङ जातिको अस्तित्व जोडिएको छ, जो अनादिकालदेखि नै भौतिक, अभौतिक र अनेक संवेदनासँग गाँसिएर रहिआएको छ । साल्पा र सिलुछोको प्रकृति, अवस्थिति र बनोटसँग कुलुङ जातिको अविच्छिन्नता जोडिएको छ । कुनैपनि जाति भन्नु स्वयंसिद्ध रुपले भूमि/भूगोल पनि हो । बिना भूमिको कुनै समुदाय वा जाति बन्न सक्दैन । कुनै खास भूमिसँगको निरन्तर अन्तरसम्बन्ध, त्यहाँका डाँडाकाँडा, खोला–नाला, बनजंगल, हावापानीसँगको आदि–अनादिकालदेखिको सम्बन्धले मान्छेलाई त्यस भूमि/भूगोलको जाति बनाउँदछ । त्यसैले, जातिको इतिहास भनेको भूमिको इतिहास पनि हो । भूमि धेरै आधारहरुमध्ये प्रमुख आधार हो, जसले कुनै समुह अर्थात् जातिलाई जाति वा राष्ट्र बनाउँदछ । त्यसैले, किरात कुलुङ जाति साल्पा, सिलुछो र कुलुपोङखोको एक इतिहास पनि हो ।

कुलुङ मिथक अनुसार निनामरिदुम र पारुहोङले सबैभन्दा पहिला मानव सृष्टि तुम्नोको गरेका थिए । तुम्नो जन्मिएको ठाउँको नाम मिनापोङखो–हाल्खुम्बु भएको थियो । कुलुङ भाषामा मिना/मिनाङाली भन्नाले मान्छे/मान्छेको स्वरुप र पोङखो/पोख्को भन्नाले उत्पति/सृष्टि भन्ने बुझिन्छ । त्यस्तै, कुलुपोङखोको अर्थ कुलु भन्नाले कुलुङ र पोङखो भन्नाले उत्पति/सृष्टि भन्ने अर्थ हुन्छ । समग्रमा कुलुङ जातिको पुर्खाहरुले खोरिया फार्दै/भस्मे फार्दै बिस्तार गरेको अर्थात फैलिएर बसेको ठाउँको नाम कुलुपोङखो रहन गएको बुझ्न सकिन्छ । परिवर्तित समयसँगै मान्छेको चेतनाको विकासक्रमसँगै पञ्चायत कालिन अवस्थामा समेत कुलुपोङखोलाई भोजपुरका साम्बेवाहरुले आफ्नो किपटमा रहेको दाबी गर्दै भोजपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । तर, भोजपुर र सोलुखुम्बु महाकुलुङका कुलुङ पुर्खाहरुले अदालतमा गएर यदि कुलुपोङखो साम्बेवाहरुको हो भने साम्बेवापोङखो हुनुपर्ने कसरी ? र, किन ? कुलुङ भाषामा कुलुपोङखो नाम रहन गयो भनेर तार्किक बहस गरेपछि भोजपुर जिल्ला अदालतले कुलुङहरुको पक्षमा मुद्दा फैसला गरेको इतिहास जीवित रहेको छ । त्यसैले, कुलुङ जाति र कुलुपोङखोको अन्तरसम्बन्ध नङ र मासु झैं परिपुरक रहेको प्रष्ट बुझ्न सकिन्छ । सोलुखुम्बु, भोजपुर र खोटाङको केन्द्रविन्दुमा पर्ने कुलुपोङखो कुलुङ जातिको एक ऐतिहासिक स्थलको रुपमा मान्न सकिन्छ, जुन समुन्द्री सतहदेखि करिब ३,३५८ मिटरको उचाइमा अवस्थित रहेको छ ।

कुलुपोङखोबाट साल्पा पोखरी करिब ३० मिनेटको दुरीमा रहेको छ । समुन्द्री सतहदेखि करिब ३,४५८ मिटरको उचाइमा अवस्थित छ । चारैतिर पहाडले घेरेको लाम्चो आकारको साल्पा पोखरी धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक रुपले सुप्रसिद्ध रहेको छ । सबैभन्दा उच्च स्थानमा रहेको चोखो र पवित्र धार्मिक स्थल साल्पा पोखरीप्रति किरात कुलुङ समुदायमा ठुलो श्रद्धा र विश्वास रहेको छ । कुलुङ सेलेमोप् र देःमोप् धामीहरुको शिर उठाउने पवित्र स्थल साथै धामी बिजुवाहरुलाई समेत शक्ति प्रदान गर्ने गुरुको रुपमा साल्पा र सिलुछोलाई सम्बोधन गरेको पाइन्छ । कुलुङ भाषामा यसलाई साइपोम् भनिन्छ । साइपोम् शब्द अपभ्रंश हुँदै जाँदा साइपो/साल्पो हुँदै कालान्तरमा साइपो/साल्पोबाट साल्पा भएको कुलुङ बिजुवा/धामीहरु बताउछन् । (सोलुखुम्बु र पर्यटन) पुस्तकका लेखक हिमाल गिरीले आफ्नो पुस्तकमा लेखे अनुसार कुलुङ भाषामा (लाम्चो आकार) जनाउने शब्दलाई (स–सल्पा) भनिन्छ । साल्पा पोखरीको नाम कुलुङ भाषाबाट स–सल्पा पोक्ःरी भनिन्थ्यो पछि अपभ्रंश भएर स–सल्पाबाट साल्पा भनिएको हो भनेर लेखकले आफ्नो तर्क व्यक्त गरेका छन् ।

किराती किम्बदन्ती अनुसार साल्पा र बराह दुई दिदीबहिनी किराती चेलीहरु थिए । पहिले उनीहरु मैदानतिर बस्दथे । कलिले सताउन थालेपछि दुवैजना चोखो र पवित्र ठाउँको खोजीमा हिमाल पर्वततिर लागेका थिए । दिदी अघिअघि र बहिनी पछिपछि अघि बढ्दाबढ्दै वर्तमान खोटाङ जिल्लाको बराह पोखरी भएको स्थानमा पुगेपछि बहिनी बराहलाई कलिले छोएछ । र, उनी बिरामी भएर त्यहि मरेछन् । त्यसपछि दिदी, साल्पा गएर बसेपछि पोखरीको नाम पनि साल्पा रहन गएको भन्ने किम्बदन्ती रहेको छ । शत्रुबाट बच्न सफल उनै किराती चेलीको सम्मानमा साल्पा पोखरीलाई पवित्र स्थलको रुपमा पुज्न थालेको विश्वास गरिन्छ । आदिम युगमा संखुवासभाको अरुण उपत्यका क्षेत्रमा एक किरात राजाले राज्य गर्दथे । महादेवले त्यो राज्य हडप्ने मनसायले पिनास रोग लगाएका थिए । त्यसपछि किरात राजा उपचारका लागि मधेशतिर प्रस्थान गरेका थिए । महादेवले राजाको प्रस्थानपछि त्यस राज्यलाई ध्वस्त पारी, रानी र जनतालाई त्यहाँबाट लखेटेका थिए । किरात राजा स्वास्थ्य उपचार गरेर फर्कदा महादेवले राज्य हडपेको र रानीलाई बिचल्ली पारेर धपाएको थाहा पाएपछि राजाले सबैतिर सोधखोज गर्दा राज्य हडपेपछि रानी रुँदै साल्पातिर गएको थाहा पाए । त्यसपछि किरात राजा रानीको खोजी गर्दै साल्पातिर लागेका थिए । खोज्दै जाँदा बिल्बाते ढुंगाको टुप्पोमा चढेर सिलुछोतिर हेर्दा रानीको टाउको मात्र देखेका थिए । त्यो ढुंगामाथि अर्को ढुंगा राखेर हेर्दा साल्पा पोखरीमा रानी देखिएका थिए । बिल्बातेको त्यो ढुंगालाई अहिलेपनि कुलुङहरुले (राजालुङ) भनेर पुकारेको पाइन्छ । किरात राजा हतार–हतार रानी लिन जाँदा रानीलाई सर्पले बेरिसकेको अवस्थामा भेट्टाएका थिए । रानीको बिलय वा प्राण अन्त भईसकेका थिए । उनै किरात राजारानीको बिछोड भएको बिलौनामा सबैले सै राजा सै सै, सै रानी सै सै, गीत गाउन थालिएको किम्बदन्ती रहेको छ । केहि कुलुङ पुर्खाहरुका अनुसार साल्पा पोखरीमा पाँचवटा नाग दिदीबहिनी रहेका छन् । त्यसका साथै जलदेवाता, सिमे–भूमे, वायु र पत्थरलाई सम्बोधन गर्दै लयबद्ध र पंतिबद्ध मिलाएर साल्पा पोखरीलाई राजा र रानीको संज्ञा दिदै वर्तमान अवस्थामा पनि साल्पै राजा साल्पै रानी, गुरु राजा गुरु रानी भन्दै सै राजा गाउने प्रचलन जिवितै रहेको छ । साल्पा पोखरीमा वैशाख–चण्डी पुर्णिमा, भदौ–ऋषि पुर्णिमा, कार्तिके पुर्णिमा र मंसिरे पुर्णिमा गरि वर्षमा चार चोटी मेला लाग्ने गरेको पाईन्छ । साल्पा पोखरीमा पानी बाहिर जाने दुई वटा बाटो रहेको छ । पानीको सतह कहिले पुर्व भोजपुरतिर बग्छ भने कहिले पश्चिम सोलुखुम्बुतिर बग्ने वा कम हुने गर्दछ । जतापट्टि पोखरीको सतह घट्छ त्यो साल त्यतैपट्टिको गाउँमा अनिकाल पर्ने, अन्नबाली तथा पशुपालन राम्रो नहुने, समाजमा रोगव्याधी फैलिने जनविश्वास रहेको छ । जसले गर्दा साल्पालाई किरात कुलुङ समुदायले आफ्नो भाग्यरेखा छुट्टयाउने पुख्र्यौली देवताको प्रतिकको रुपमा समेत मान्ने चलन रहेको छ ।

तीनपटक नुहाए पाप नष्ट हुने र पुण्य कमाइन्छ भन्ने जनविश्वास रहेको साल्पा पोखरीमा शुद्ध मनले जे चिताएर माग्यो त्यहि पाईन्छ भन्ने विश्वास रहेको छ । जीवनभर बोली नआउनेहरु साल्पामा गएर नुहाए बोली आउने, धन सम्पती आर्जन गर्ने, विद्या र बुद्धि बढ्ने, दिर्घ रोगहरु निको हुने र निःसन्तानहरुको सन्तान हुने जस्ता धार्मिक विश्वास रहेको छ । सन्तान नहुनेहरुले साल्पा जाँदा रित्तो कोक्रो बोकेर जाने र अर्को वर्ष आउँदा यहि कोक्रोमा छोराछोरी ल्याउन पाउँ भनेर वरदान माग्ने गरेको पाईन्छ । जन्मदिने बुवाआमालाई बोकेर पोखरी परिक्रमा गरे पाप पखालिने र पुण्य प्राप्ति हुने मान्यता रहेको साल्पा पोखरी वरिपरी कसैले फोहोर मैला वा दिसापिसाब गरेमा तत्कालै आकाशमा मेघ गर्जने, असिना पानी पर्ने, चट्याङ पर्ने, हुरीबतास चल्ने र चारैतिर बादलले छोप्ने जस्ता वातावारणीय परिवर्तन हुने मान्यता रहेको छ । ऋषि पुर्णिमाको समयमा पोखरीमा दुध, चामल र खीर चढाउने प्रचलन रहेको छ । त्यो समयमा पोखरी पुरै सेतो हुने र पोखरीमा चढाएका प्रसादहरु नाग आएर खाने गरेको विश्वास गरिन्छ । साल्पा पोखरीमा एक्लै गयो भने पोखरीको छाल उठेर आउने र कहिलेकाही पानी बगेको जस्तो डरलाग्दो आवाज आउने गरेको स्थानीय कुलुङहरुले बताउने गरेका छन् ।धार्मिक तथा साँस्कृतिक आस्थाको प्रतिक मानिएको साल्पाबाटै कतिपय कुलुङ धामीहरुले नाच्ने (सील) नाचको उत्पति भएको कुलुङ बिजुवाहरुले दाबी गरेका छन् । धामीझाँक्री सहित तिर्थालु भक्तजनहरु साल्पा पुगेपछि आफ्नो साखा सन्तानको सु–स्वास्थ्य तथा दिर्घायु होस्, अन्नबालीको राम्रो उत्पादन तथा गाइवस्तु र पशुपंक्षी राम्रो होस्, प्राकृतिक प्रकोपले दुःख नदिओस् भन्ने कामना गर्दै वरदान माग्ने चलन रहेको छ । हिमाली क्षेत्रमा पाईने जैविक विविधताले भरिपूर्ण साल्पा पोखरीको आसपासमा हिमाली वनहरू हाब्रे सल्ला, हिमाली लालीगुराँस, हिमाली थार, हिमाली खरायो तथा हिमाली सिमसार क्षेत्रमा बस्न मन पराउने सानो स्तनधारी वन्यजन्तुहरु पाईन्छ भने हुचिल, पानीहाँस, लाटोकोसेरो र मौसमी चराचुरुङगी यस क्षेत्रका मुख्य आकार्षणका रुपमा लिन सकिन्छ ।

साल्पा पोखरीको शिरमा रहेको प्रशिद्ध चुचुरा हो सिलुछो/सिलिछो । धार्मिक हिसाबले होस् या साँस्कृतिक हिसाबले साल्पासँगै सिलुछोको नाम जोडिएको पाईन्छ । सिलुछो शब्द अपभ्रंश भएर सिलिछो भएको हो । त्यसैअनुरुप, साल्पा सिलिछोबाट भोजपुर जिल्लाको तत्कालिन चार वटा गाविसहरु दोभाने, कुलुङ, खाटाम्मा र चौकीडाँडा मिलेर साल्पा सिलिछो गाउँपालिकाको नामाकरण गरिएको हो । त्यस्तै सिलुछो पिककै नामबाट संखुवासभामा रहेको सिलिचोङ गाउँपालिकाको नामाङ्कन गरिएको हो । अन्य किराती समुदाय तथा नेपाली भाषीहरुले सिलुछोलाई सिलिचोङ/सिलिचुङ भनेर उच्चारण गरेको पाईन्छ । आदिबासी किरात कुलुङ भाषामा राखिएको स्थापित नाम हो सिलुछो । सि को अर्थ सिङ–दाउरा, लु को अर्थ लुङ–ढुंगा र छो को अर्थ शिर वा चुचुरा भन्ने हुन्छ । यसरी विभिन्न (सिङ–लुङ) दाउरा ढुंगा, (दाम्ःरो– सिम्ःरो) भीरपाखा (सान्मा–बुक्मा) झ्यासघारी (योउ–सोगो) खोलानाला र वनजंगल भन्दा निक्कै माथि शिरमा रहेकोले सिलुछो भनिएको हो । कतिपय स्थानीय कुलुङ पुर्खाहरुले सिलुको अर्थ जमिन वा भूभाग र छोः को अर्थ शिर वा चुचुरा भनेर भन्ने गरेको पाईन्छ । समग्रमा जमिन अर्थात भूभागको शिर नै सिलुछो हो ।

समुन्द्री सतहदेखि ४,१५३ मिटरको उचाइमा अवस्थित सिलुछोलाई कुलुङ समुदायले आफ्नो ऐतिहासिक तथा साँस्कृतिक गौरव र स्वभिमानको प्रतिकका रुपमा लिने गरेको पाईन्छ । कुलुङ संस्कार, संस्कृतिमा शिर उठाउँदा होस् वा आशिर्वाद दिँदा सबैले सुलुछोलाई पुकारेको भेटिन्छ । (लेत्चा, सोङ्चा खिक्का सिलुछो बुकुरछो छोक्तो थोङचा) सधा स्वास्थ्य भई बाँचिरहनु, त्यसपछि सिलुछो र बुकुरको शिरमा पुगिरहनु भनेर कुलुङ पुर्खाहरुले आशिर्वाद व्यक्त गर्ने गर्दछन् । प्रत्येक व्यक्तिलाई हरेक कर्मको सफलता अर्थात् बिजयको कामना गर्दा पनि सिलुछो जस्तै हुनु भन्ने गरिन्छ । यसकारण सिलुछोलाई कुलुङ जातिको एक प्रसिद्ध आशिष थलोको रुपमा समेत चिन्ने गरिन्छ । कुलुङ परम्परा अनुसार धामी बिजुवाहरुले सम्पूर्ण पुजाआजा वा धार्मिक कार्य गर्दा ३ चुल्हाबाट पुकार्दै लगेर कुलुपोङखो हुँदै साल्पा पोखरी भएर सिलुछोमा पुग्ने गरेको पाईन्छ । सिलुछोमा पुगेर सबै कुलदेवता, धामीको गुरु र आफ्नो शिर उठाउने, (अम्चिम् दम्चिम्) सम्झाउने, बुझाउने, विद्या माग्ने गरेको पाईन्छ ।
कुलुङ सेलेमोप् र देः मोप् धामीहरु सिलुछोको शिरमा आफ्नो गुरु र देवता बस्ने गरेको विश्वास गर्दछन् । साल्पा र सिलुछोलाई आफ्नो गुरु मान्दै उनीहरुले शक्ति र आशिर्वाद माग्ने गरेको पाईन्छ । कुलुङ जातिको उद्गम स्थल महाकुलुङ क्षेत्रकै धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक हिसाबले एउटा इतिहास बोकेर पुस्तौदेखि उभिएको सिलुछो प्राकृतिक दृश्यावलोकनको लागि आफैमा एक सुन्दर भिउपोइन्टको रुपमा मान्न सकिन्छ, जहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कन्चनजंघा, ल्होत्से, नुच्चे, चाम्लाङ, अमादब्लम, मेरापिक, चारपाटे, नुम्बुर र ८ हजार मिटरभन्दा अग्लो विश्वको १४ वटा हिमालहरुमध्ये १४ औं स्थानमा रहेको चाइनाको सिसापाङमा लगायत २२ वटा भन्दा बढी हिम श्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

हिमालका साथै सिलुछोबाट केन्पा, गबित्ता, बुकुर, पोपोमा, साहुनेछो, चुचुमा, ग्याङखर्क, पोम्लालुङ, पिके डाँडा लगायतका सुन्दर ठाउँहरु देख्न सकिन्छ भने तराइका भूगागहरु अरुण उपत्यका, संखुवासभाको खाँदबारी, मोरङ, झापा र सुनसरीका केहि फाँटहरु त्यस्तै धनकुटा, ताप्लेजुङ, भोजपुर, खोटाङ र सोलुखुम्बुका भूभागहरु मज्जाले हेर्न सकिन्छ । सिलुछोलाई सुर्योदय र सूर्यास्तको दृश्य हेर्नलाई भने विश्वकै सर्वोत्कृष्ट थलोको रुपमा मान्न सकिन्छ । भूमि, भाषा र जाति परिपुरक मानिन्छ । जुन भूमिमा जुन जातिको आदिमकालदेखि बसोबास रेहेको छ, त्यहि जातिकै भाषामा सोहि भूमि वा भूगोलको नाम रहेको पाईन्छ । जसरी कुलुपोङखो, साल्पा र सिलुछो कुलुङ भाषामा नाम स्थापित रहेको छ, सो क्षेत्रमा सबैभन्दा आदिम युगमा खोरिया फार्दै कुलुङहरुकै पुर्खा पुगेका थिए भन्न सकिन्छ । कुलुङ वंशावली अनुसार रोदु किरातका दाजुभाइहरु मध्ये खम्बुहोङ वंशका दिस्मी हुँदै, खप् हुँदै कुलुङ जातिको पुर्खा छेम्सी मिनापोङखो हाल्खुम्बुबाट दुधकोशीको किनारै किनार आएर खोटाङको रावाखोलामा बसेका थिए । त्यसपछि सोलुखुम्बुको सोताङ हुलुमा आएर बसेका थिए । छेम्सीले राताप्खुसँग भूमि साटेपछि दाजु ताम्सीलाई रावाखोलामा लिन गएर महाकुलुङको छेस्काममा ल्याएर छोडेका थिए । त्यसपछि पुनः छेम्सी रावाखोला फर्कदा खालिङको पुर्खा माप्यासँग भेट भएको थियो । दुवैजनाले खुवोलु लाम्छाम्मा जाने सल्लाह गरेर छेम्सी र माप्या खुवोलु लाम्छाम्मा गएका थिए । खुवोलु लाम्छाम्माबाट दुई पुर्खाहरु अरुण नदि आसपास हुँदै कार्तिकेघाट निस्केका थिए । कार्तिकेघाटबाट संखुवा खोला हुँदै साल्पा पोखरी, सिलुछो र कुलुपोङखो निस्केका थिए । त्यसपछि महाकुलुङ गुदेल पुगेर गुदेलबाट कोङकेलुछो हुँदै पाँचपोखरी पुगेका किम्बदन्ती रहेको छ । महाकुलुङ भूमि र आसपासका क्षेत्रमा मानव सभ्यताको विकासक्रम तीनै छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु चार पुर्खाकै पालादेखि भएको देखिन्छ । ती पुर्खाहरुको नामसँगै थुप्रै भूगोल वा भूमिको नामको विकास भएको र थुप्रै सभ्यताको विकास भएको देखिन्छ । त्यसैले, कुलुपोङखो, साल्पा र सिलुछोको नामाकरण पनि त्यहि छेम्सी र माप्या पुर्खाहरुकै पालामा भएको मान्न सकिन्छ ।

दैवी शक्ति र आफ्नो पित्ःरी (खाल्) देवी देवतामा विश्वास राख्ने किरात कुलुङ जातिको परम्पराले आफ्नो वरिपरिका प्रकृतिसँग असाध्यै गहन सम्बन्ध रहेको तथ्य पुष्टि हुन्छ भने कुलुङ समुदायको परम्परागत रीतिरिवाजले प्रकृतिलाई स्वाच्छ राख्न र संरक्षणमा समेत रचनात्मक भूमिका रहेको अथ्र्याउन सकिन्छ । कुलुपोङखो, साल्पा पोखरी र सिलुछो पिक जस्ता प्राकृतिक श्रोतसाधनको संरक्षण तथा संवद्र्धन त्यस क्षेत्रका वासिन्दा कुलुङ समुदायले पुस्तौदेखी गर्दै आइरहेको छ । साल्पा र सिलुछो आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको देखिन्छ । कुलुपोङखो, साल्पा र सिलुछो पर्यावरणीय संरक्षणको दृष्टीले समेत निक्कै महत्वपूर्ण मानिन्छ । यस क्षेत्र खोटाङ, भोजपुर र सोलुखुम्बुको तल्लो क्षेत्रमा विकास हुँदै गईरहेको मुन्धुम ट्रेलसँग समेत सजिलै जोडिएको छ । यस ठाउँको पर्यावरणको संरक्षण तथा प्रवद्र्धन गरि पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना देखिएको छ । कुलुपोङखो, साल्पा र सिलुछो पर्यटकीय क्षेत्रको रुपमा विश्व बजारसम्म प्रचार प्रसार गरि एक महत्वपूर्ण तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सकिन्छ । आवश्यक पूर्वाधारको विकास गरि पर्यटन प्रवद्र्धन गर्न सक्यो भने कुलुपोङखो, साल्पा र सिलुछो वरिपरिका कुलुङ बस्तीमा आर्थिक कायापलट हुने सम्भव देखिन्छ ।

 

प्रकाशित : २ असार २०८२, सोमबार ००:००