काठमाडौं, रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ । मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो ।
कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको हो । आइतबार बिहान पुल अनुगमनमा पुगेका रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको जानकारी दिए ।
यस अघिको अनुगमनमा नै कैफियत देखिएपछि पुनर्निर्माण गर्न सुझाव दिएको तर त्यसैलाई मर्मत गर्न खोज्दा भाँचिएको उनले बताए । यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।











प्रतिक्रिया