Breaking News Post

बाढी पीडित भन्छन्- राहत पाएनौं, सरकारको दाबी-ट्रक र हेलिमा गइसक्यो


१५ भाद्र २०८३, सोमबार ००:००


१५ भदौ, काठमाडौं । रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् । घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् ।

भदौ १० गते भोटेकोशीमा भीषण बाढीले बस्ती नै ध्वस्त भएपछि उनी बसेको ठाउँमा नेपाली सेनाका हेलिकप्टर एकपटक पनि पुगेको छैन ।

हेलिकप्टरको आवाज सुन्दा उनलाई आफ्नै लागि राहत आएको जस्तो लाग्छ, तर ती हेलिकप्टरहरू राहतको साट्टो आशलाग्दो आवाज मात्रै छोडेर जान्छ ।

राहतको अभावसँगै गाउँमा बिजुलीसमेत नहुँदा आफूहरूको जनजीवन कष्टकर बन्दै गएको पेम्बा बताउँछिन् ।

‘अहिले त जसोतसो घरमै भएका खानेकुराहरू खाइरहेका छौं। तर अब पनि राहत आएन भने बाढीमा बगेसरह हुन्छौं,’ उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘बत्ति नहुँदा गाउँ नै अध्याँरो छ। बाटोघाटो सबै बगेका कारण कसैले भोकै जेलमा राखेको जस्तो भएको छ।’

पेम्बाकै हालत वडा नं २ र ५ का बासिन्दाको पनि छ । दालचामलसमेत नभएको यो ठाउँमा मान्छेहरू घरमै भएका पानी खाएर दिन काटिरहेका छन्।

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार लाख प्रयास गरेपनि हालसम्म राहतका नाममा एक बोतल पानी पनि झरेको छैन।

‘सबैले राहत पुग्यो की छैन सोध्नलाई मात्रै फोन गर्छन्। तर पठाउन कसैले पठाइरहेका छैनन्,’ अध्यक्ष कैसाङ भन्छन्, ‘सबैले राज्यले बेवास्ता गरिरहेको भनिरहेका छन्। म आफैं पनि राहतका लागि दिनरात प्रयास गर्दा पनि उपलब्ध गराउन सकेको छैन।’

रसुवाकै आमाछोङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ भने शुरूमा केही राहत आएपनि अहिले सबै सकिइसकेको बताउँछन्। राहत सकिनेबित्तिकै गाउँमा कोलाहल मात्रै मच्चिएको छैन, बुचुङलाई जसरी पनि व्यवस्था गर्न दबाब पनि आइरहेको छ।

‘बिजुली नभएर सबै स्थानीयसँग निरन्तर सम्पर्क पनि हुनसकेको छैन। हाम्रो गाउँ अहिले पूरै नाकाबन्दीमा परेजस्तो भएको छ,’ उनी भन्छन्, ‘आजसम्मलाई त पुगअपुग केही गरी कट्ला तर भोलिसम्म पनि आएन भने हाहाकार हुन्छ।’

सरकार भन्छ ‘निरन्तर पुर्‍याइरहेका छौं’

पीडितहरूको घरमा राहत सामग्री नपुगे पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३७ ट्रक र ३५ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामाग्री पठाएको दाबी गरिएको छ ।

हेलिकप्टरबाटै ८ वटा उडान गरेर खाद्य तथा गैरखाद्य सामाग्री पठाइएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा समावेश छ ।

प्राधिकरणको अपडेटअनुसार भदौ १४ गते रसुवा जिल्लाका लागि स्थालमार्ग एंव हवाइमार्गबाट पाँचवटा पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य (औषधी तथा स्वास्थ्य सामग्रीसमेत) पठाइएको साथै नुवाकोट जिल्लामा १३ वटा सवारीसाधन तथा हेलिकप्टरमार्फत राहत सामग्री परिचालन गरिएको छ।

प्राधिकरणले मात्रै होइन, नेपाली सेनाले पनि आफ्नो फेसबुक पेजमा विभिन्न गीत राखेर हेलिकप्टरमा राहत समाग्री ढुवानी गरिरहेका फोटोभिडियो सार्वजनिक गरेको छ। तर ती राहत कुन ठाउँमा पुर्‍याइएको भने खुलाएको छैन।

राहतको अपडेट सेना र प्राधिकरणले मात्रै होइन, प्रधानमन्त्री बालेन शाह स्वयंले पनि आफ्नो फेसबुकबाट स्टाट्स लेखेर दिइरहेका छन्।

तर उनले राहत कहाँकहाँ बाँडियो भनेर खुलाउनुको साट्टो कहाँकहाँबाट संकलन भयो र ती राहत कुन ब्यारेकमा पुर्‍याइयो मात्रै खुलाएका छन्।

हिजो साँझ फेसबुक स्टाट्समार्फत उनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको बताएका छन्।

उद्धार उडानको प्रतीक्षामा अलपत्र यात्री । तस्वीर : रासस

‘प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ,’ प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्, ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।’

बालेनका अनुसार त्रिभुवन विमानस्थलको वेयर हाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ ।

संकलित राहत सामाग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याउने काम भइरहेको छ।

‘त्यहाँ संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरु सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘आज मात्रै एमआइ-१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्‍याइएको छ ।

साथै,आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ । विभिन्न संघसंस्था र सहयोगी निकायहरुले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरूमा राहत सामग्री पठाउने क्रम जारी छ ।’

बाढीपीडितका लागि राहत संकलन हुँदै ।

संघीय सरकारले यति धेरै राहत पुगिरहेको दाबी गर्दा पनि पीडितहरूले राहत किन पाएका छैनन् ? रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको जवाफ छ- ‘राहत सामग्री हामीसँग छ, परर्‍याइ पनि रहेका छौँ तर जति पुर्‍याउनुपर्ने थियो त्यति मात्रामा पुर्‍याउन सकेका छैनौं । सडक अवरुद्ध र मौसमका कारण हेलिकप्टर उडानमा समस्या भएकाले पर्याप्त नपुगेको उनले बताए ।

‘बाढीले सडक सबै अवरूद्ध छ। मौसमले गर्दा निरन्तर हेलिकप्टर पनि उड्न सकेको छैन’ उनले भने,’ उडेपनि सीमित क्षमता मात्रै भएर समस्या भएको हो। पर्याप्त नहोला तर छाक टर्ने गरी राहत गइरहेको छ ।’

प्रधानमन्त्री बालेनकाअनुसार नेपाललाई राहत सामग्री भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायतका देशबाट आएको छ । भारत सरकारले मात्रै हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ । चीन,अमेरिका, यूएईबाट पनि सोही किमिसको सहायता आएको छ । तर, ती राहत बास्तविक पीडितकहाँ पुगेका छैनन्।

बालेनले प्रभावितको व्यवस्थापन र पुनःस्थापनाका लागि अन्य अन्तर्राष्ट्रिय संघसंस्था र देशबाट पनि सहयोग आइरहेको जानकारी दिएका छन् ।

एशियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एशियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता आएको छ।

कहाँ गइरहेको छ राहत?

सरकारी तथ्यांकले मात्रै होइन, नुवाकोट पुग्ने सडकखण्डमा गुडिरहेका अधिकांश मालबाहक गाडी राहत बोकेका देखिन्छन् ।

झट्ट हेर्दा गाडीका गाडी राहत बाढी प्रभावित क्षेत्रमै पुगिरहेको बुझिन्छ। तर बाढी प्रभावित क्षेत्रकै जनता नआएको भनेपछि कहाँ गइरहेको छ राहत ? बाढी गएको पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा राहत किन पुग्न सकिरहेको छैन ? सरकारले राहत पुगिरहेको दाबी किन गरिरहेको छ ?

विभिन्न ठाउँबाट आइरहेका राहत नुवाकोटको बट्टार बजारमै थन्किरहेको देखाउँछ ।बट्टारकै स्थानीय राकेश न्यौपानेकाअनुसार पनि राहत बोकेका प्राय गाडी बट्टार बजारस्थित नेपाली सेनाको मैथिल ब्यारेक छेउछाउ रोकिन्छ । त्यसउता न राहत लिएर आउनेहरू अगाडि बढ्छन् न गतिलो सडकले उनीहरूलाई अगाडि बढ्न प्रेरित गर्छ।

‘सेनाले उद्धार गरेकाहरूलाई यही ब्यारेकमा ल्याएको देख्दा धेरैलाई यही बाँड्ने हो जस्तो लाग्छ। बाँड्न शुरू के गरेको हुन्छ एकैछिनमा लुछाचुडी भइहाल्छ,’ राकेशले अनलाइखबरसँग भने, ‘यहीकारणले वास्तविक पीडितले राहत पाउन सकेका छैनन् । बाँड्ने आउनेहरू पनि आफूलाई सुविधा हुने ठाउँमा बाँड्छन्, फोटो खिच्छन् अनि जान्छन्। सरकारले राहत नपुर्‍याए पीडितसम्म पुग्न सम्भव छैन।’

बाढी आएको भोलिपल्टबाटै राहत संकलनमा लागेका अभिनव जोशी भने सडकका कारणले राहत सामग्री नुवाकोट नकटेको बताउँछन् । उनकाअनुसार सडक सबै प्रभावित भएको र वैकल्पिक सडकमा भरपर्दो नभएका कारण राहत नुवाकोट कट्न नसकेको हो।

‘आज पनि हेर्नुस् न राहत सामग्री ओसार्ने गाडीहरूको हालत के छ,’ उनले भने, ‘हाम्रो राहत नपुगेपनि सरकारको राहत हेलिकप्टरमा भएपनि पुग्नुपर्थ्यो।’

तर, प्रधानमन्त्रीकै स्टाट्सले पनि राहत सामग्री बट्टार बजारमै थन्किरहेको पुष्टी हुन्छ । बालेनले १२ गते लेखेको फेसबुक स्टाट्समा छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको बताए पनि संकलित राहत सामग्री बट्टारस्थित सैनिक ब्यारेकमा पुर्‍याएको उल्लेख छ ।

‘नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्‍याइसकेको छ। काठमाडौंको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेकमा पुर्‍याइएको छ,’ उनले लेखेका छन्।

सरकारले टन र ट्रकमा राहत गएको बताउँदा आखिर ती राहत कहाँ गए ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले अनलाइनखबरलाई भनिन्, ‘बाढीकै लागि हामीले सहसचिवहरूको नेतृत्वमा १४ वटा कार्यदल गठन गरेका छौं । तपाईंले सोध्नुभएको जानकारी राहत हेर्ने प्रमुखलाई नै सोधुपर्ला ।’

प्राधिकारणको राहत कार्यदल प्रमुखको जिम्मेवारी सहसचिव जगन्नाथ तिवारीलाई दिइएको छ । उनी सरकारी तथ्यांकले देखाइरहेका राहत पीडितहरूलाई गइरहेको दाबी गर्छन् । ‘हामीलाई कतै राहत नपुगेको जानकारी आएकै छैन। खै कहाँबाट यस्तो सूचना फैलियो ?’ उनको उल्टै प्रश्न छ ।

प्रकाशित : १५ भाद्र २०८३, सोमबार ००:००