काठमाडौं– गायक तथा संगीतकार जनम थुलुङको निधन भएको छ । ‘मरे कटुन्जे’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘हर्षले बाँचे फेरि भेटौंला है’ आदि लोकप्रिय गीतका गायक तथा संगीतकार थुलुङको कोरोना संक्रमणबाट निधन भएको हो ।
सांगीतिक क्षेत्रका प्रतिभावान कलाकारको रुपमा उदाइरहेका खोटाङका यी गायक तथा संगीतकार थुलुङको उपचारकै क्रममा बिहीबार राति निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको एक अस्पस्तालमा उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो । जनमको निधनले नेपाली सांगीतिक क्षेत्रले एक युवा प्रतिभालाई गुमाएको छ ।
उनका पारिवारिक सदस्यका अनुसार जनमलाई एक हप्ताअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो ।
खोटाङको महेश्वरी, ऐंशेलुखर्कका ३३ वर्षीय जनम विगत एक दशकदेखि निरन्तर संगीत सिर्जना, अध्ययन तथा अनुसन्धानमा क्रियाशील थिए । संगीतमा स्नातक गरेका जनमले दुई दर्जनभन्दा बढी गीतहरुमा स्वर तथा दर्जनौं गीतमा संगीत दिएका छन् ।
दिवंगत गायक जनमका खुवालुङ खुल खुल, मरे कटुन्जे, रोक्नी वो च्योमिम्, झापा कोङ्ङ्गा डुमु बासी, बकि बकि स्यो, हाम बोमु झाम गुई आदि गीतहरु लोकप्रिय ।
जनमका ‘दृश्य’, ‘आलास्यो’ र ‘माम पाप’ शीर्षकका गीत एल्बम पनि सार्वजनिक भएका छन् । गायक तथा संगीतकार जनम थुलुङको निधनप्रति कलाकर्मी परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।











प्रतिक्रिया