गृह पृष्ठ

सोलुखुम्बुवाट निर्वाचित राई र राजभण्डारीले फोर्चे ठाक्री छोलिङ गुम्बा र फोर्चे खानेपानी आयोजनाको अवलोकन


२२ मंसिर २०७९, बिहिबार ००:००


सोलुखुम्बु । प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा सोलुखुम्बुवाट निर्वाचित मानवीर राई र बुद्धिकुमार राजभण्डारीले खुम्बु पासाङल्हामु गाउँपालिकाको फोर्चेमा नवनिर्मित फोर्चे ठाक्री छोलिङ गुम्बा र फोर्चे खानेपानी आयोजनाको अवलोकन गर्नुभएको छ ।

भोलि उद्घाटन हुन लागेको उक्त गुम्बा र खानेपानी आयोजना निर्माण प्रति वहाहरुले खुशी व्यक्त गर्नुभएको छ । उचाई र चिसोको बाबजुध पनि योजना उत्कृष्ट र सन्तोषजनक रहेकोमा वहाहरुले खुशी व्यक्त गर्नुभएको खुम्बु पासाङल्हामु गाउँपालिका, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

आजै वहाहरुले खुम्बु क्लाइम्बिङ सेन्टरको समेत निरिक्षण भ्रमण गर्नुभएको छ । अवलोकनका क्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पा, उपाध्यक्ष टासील्हामु शेर्पा, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

नव निर्वाचित सांसद राई र राजभण्डारीले फोर्चेका स्थानीय मतदाताहरुलाई धन्यवाद समेत दिनुभएको छ ।
मतदातालाई धन्यवाद दिँदै नवनिर्वाचित प्रतिनिधी सभा सदस्य मानवीर राईले अब आफूहरु जिल्लाको विकास निर्माणमा क्रियाशिल हुने बताउनुभयो ।

नवनिर्वाचित प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले आफ्नो पहिलो कार्यकालमा पनि जिल्लाको विकासको लागि महत्वपूर्ण काम गरेको भन्दै खुम्बु क्षेत्रको विकासको लागि थप भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।

राजभण्डारीले खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक बिस्तारका लागि तदारुक्ताका साथ काम अघि बढि रहेको बताउनुभयो ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार ००:००