ताजा घटना

बेलायतमा यी नेपाली दम्पतिको दुखद निधन


२६ पुस २०७७, आइतबार ००:००


नेपाली दम्पतिको बेलायतमा दुखद निधन भएको छ । उनीहरुको पाँच दिनको अन्तरालमा निधन भएको हो । पहिले पत्निले छोडेर गइन् । त्यसको पाँच दिन पछि पतिको समेत दुखद निधन भयो । उनीहरुको स्थायी ठेगाना गुल्मी चन्द्रकोट ४ शान्तिपुर भएको बताइएको छ ।

हाल बेलायत बसोबास गरिरहेका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो । रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको जनवरी ७ मा निधन भएको गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले जानकारी दिएका छन् ।

पुन दम्पतिका २ छोरी र एक छोरा रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत काउचाले पुन दम्पतिको निधनको खबरले बेलायतबासी गुल्मेली अत्यन्तै मर्महात भएको जनाएका छन् ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००