राजनीति

संसद्‌मा विपक्षीले प्रश्न गरे, गृहमन्त्रीले प्रतिप्रश्न


२६ असार २०८३, शुक्रबार ००:००


२६ असार, काठमाडौं । मुगुका २५ बर्षीय गणेश नेपालीले काठमाडौंमा गरेको आत्मदाहको विषयले शुक्रबारको संसद् बैठक स्तब्ध भयो । जति सांसदले बोले सबैजसोले श्रद्धाञ्जली व्यक्त गरे । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले त एक मिनेट मौनधारण नै गरे ।

तर नेपालीको आत्महत्याको विषयलाई हेर्ने नजर सांसदहरूका फरक–फरक थिए । विपक्षी दलका सांसदहरूले गणेश नेपालीको दैनिकी, युवापन र गरिबीसँग जोडेर सरकारलाई प्रश्न गरे । सत्तापक्षले मानसिक स्वास्थ्यको विषय उठाए ।

सबैको सार नेपालमा युवाले भविष्य देख्न सक्नुपर्छ, नेपालकै रोजगारीका अवसर पाउनुपर्छ भन्ने थियो । तर राज्यले लिने ट्राफिक जरिवानाको विषयमा दुवैथरी तर्क आए ।

नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले सरकारले अत्याधिक ट्राफिक जरिवानाका कारणले समेत गणेश नेपालीले आत्मदाह गरेको र यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् ।

राज्यले लिने ट्राफिक जरिबाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न सरकारलाई सुझाइन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले २०७९ साल माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि गरेको आत्मदाह स्मरण गराइन् । त्यसबेला वर्तमान प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । आचार्यले आत्मदाह गरेपछि बालेनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेका थिए ।

प्रमुख सचेतक थापाले प्रश्न गरिन्, ‘प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्टस आज सम्झनु भएको छ कि बिर्सनुभयो प्रधानमन्त्री ज्यू ?’

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले त्यसबेलाको बालेन शाहको स्टाटस पढेरै सुनाए ।

त्यसबेला बालेनले लेखेका थिए, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’

यो बुझाइमा अहिले पनि हो वा फेरियो भनेर नेता पुनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

मुगुका गणेश नेपाली भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका थिए । राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानसिक तनावका कारण गणेश नेपालीले आफ्नो शरिरमा पेट्रोल खन्याएर आत्महत्या गर्न प्रयास गरेको’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठक बताइन् ।

करिब ५५ प्रतिशत शरीर जलेका गणेशको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शनिवार मृत्यु भयो । यो विषय संसद्मा बिहीबार पनि उठेको थियो । नेपालीको निधान नै भएपछि शुक्रबार थप चर्को गरी उठ्यो ।

गृहमन्त्री सुधनले गरे ‘क्वीक रेसपोन्स’

एक युवाले आत्मदाह गरेको र यो विषयमा संसद्मा उठेको प्रश्नमा तत्कालै जवाफ दिन गृहमन्त्री सुधन गुरुङ तयार भए । सभामुख डोलप्रसाद अर्यालसँग समय मागे र घटनाको विवरण, सरकारले गरेको प्रयास र सरकारको प्राथमिकता प्रष्ट्याए ।

तर, सांसदहरूले सरकारसँग जवाफदेहीता खोजेर गरेका प्रश्नमा भने  मन्त्रीले प्रतिप्रश्न गरे ।

संसद्मा सांसदहरूले प्रश्न गरिरहँदा आफूहरू भने यही घटनाको विषयमा छलफलमा रहेको जानकारी दिए ।

‘आज म यहाँ बोल्न आएको । मैले धेरै साथीभाइ देखेँ, माननीय ज्यूहरु उठेर घाँटी सुक्ने गरी चिच्चाई राख्नुभएको थियो, मैले देखेँ’ गृहमन्त्री सुधनले भने, ‘यहाँ त्यस्तो भन्दै गर्दा हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला ? कसरी गर्ने होला ? कसरी उहाँहरूलाई सान्त्वना दिने होला ? के–के गर्ने ? कसरी मिलाउने होला ? भनेर सोच्ने एउटा टिम बनाएर छलफल गरिरहेका थियौं ।’

यत्ति भनेर उनले संसद्मा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरे । ‘म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कति जना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा ? तपाईंहरु जति जनालाई घाँटी चिच्याएर कराउनु भइरहेको छ यहाँ । ?’

सांसदहरूलाई गृहमन्त्री सुधनले ‘कराएर जनताको सेवा नहुने’ जवाफ फर्काए ।

‘यहाँ सदनमा चिच्याएर कराएर मात्र हुँदैन । म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन’ उनले पूराना दलहरूप्रति कटाक्ष गरे, ‘त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नु पर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नु पर्छ । उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ ।’

ज्ञानेन्द्र शाहीसँग सवालजवाफ

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री गुरुङ गणेश नेपालीलाई बचाउने सन्दर्भमा गृहमन्त्री गुरुङ गम्भीर नभएको टिप्पणी गरेका थिए ।

‘गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर हो ?’ शाहीले भनेका थिए, ‘गृहमन्त्रीले फ्लिमको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामेरा बोकेर ।’

यहाँनेर उनले गणेश नेपालीको साँच्चै उपचार गर्ने सरकारको उद्देश्य थियो भनेर पनि प्रश्न गरे ।

‘यदि साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो’ शाहीले भने, ‘हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो ? गृहमन्त्रीले कति युट्युब चलायो ? युट्युबमा कति कन्टेन क्रियट गर्‍यो त्यो महत्वपूर्ण कुरा होइन ।’

यस्तो प्रश्नसँग रुष्ट भए गृहमन्त्री सुधन गुरुङ ।

‘त्यसलाई तपाईंहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ । मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्न । म आफ्नो देशको सेवा गर्न आएको हो’ गृहमन्त्रीले भने, ‘जानी नजानी अन्जानमा होस् । आफुले सक्ने नसक्ने गरेर हातमा पानी राखेर बिस्तारै हिँड्दै हिँड्दै यहाँसम्म आएको हो, पोखिएलाकी देश दुर्घटनामा जालाकी भनेर । त्यसलाई तपार्इंले स्टन्ट बाजी भनेर भन्नुहुन्छ ?’

यहाँनेर गृहमन्त्री सुधनले गणेश नेपालीलाई बचाउन रातभर खटेको स्मरण गरे ।

‘एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामी हिजो रातभरि खट्यौं । मेरो यत्तिकै यो आँसु झरेको छैन । किनभने आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरी त्यो चित्तै नबुझ्ने रहेछ’ सुधनले भने ।

उनका अनुसार गणेश नेपालीलाई बचाउन राज्यका सबै संयन्त्र लागेका थिए । गणेश नेपालीलाई एयरपोर्टसम्म सेफ ट्रान्सफर गर्न रातभर नेपाल प्रहरी, ट्राफिक प्रहरी बाटोभरि उभिएर बसे । गृहमन्त्री अस्पताल पुगे ।

सबै स्पेसलिस्ट डाक्टरहरू बोलाए । पैसाको टेन्सन नलिएर उपचारमा मात्रै सोच्न सुझाए । साथै भारत लैजानका लागि तयारी गरेर समन्वय गरे ।

अनुमति लिने प्रक्रियामा परराष्ट्र मन्त्री शिशिर खनालले पहल लिए । भारतीय राजदूतावाससँग समन्वय गरे । एम्स अस्पतालको टिमलाई  तयारी राख्न लगाइयो ।

तर प्रश्न सोध्ने क्रममा राप्रपा दलका नेता शाहीले गणेश नेपालीलाई बचाउने सन्दर्भमा सरकारले आवश्यक तयारी नगरेको टिप्पणी गरेका थिए ।

‘सुविधासम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्स पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनुको सट्टा एउटा प्लेन एयरपोर्टमा पठाएको भए । दिल्ली जान कति लाग्छ ? दुई घण्टा लाग्छ । आज गणेश नेपालीको जीवन बच्थ्यो’ शाहीले भने ।

फेरि पनि उनले सरकारलाई वास्तविक रुपमै काम गर्न सुझाएका थिए । अगाडि भनेका थिए, ‘गृहमन्त्री र मन्त्रीलाई सडकमा चटक देखाउने होइन । काम गर्नका लागि आदेश दिने हो ।’

जवाफमा गृहमन्त्री सुधनले भारत लैजाने तयारी भएको प्रष्ट्याए ।

‘एयर एम्बुलेन्स स्ट्यान्डबाइ राखियो । म आफैँ गएर निरीक्षण गरेँ  । हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा पिच भएको छैन । त्योे पिच नभएको गल्ती हामीले लिनुपर्ने ?’ सुधनले प्रतिप्रश्न गरे ।

गणेश नेपाली एम्बुलेन्समा जाँदा हल्लिएर केही होला कि भन्ने डर लागेर आफू राति नै एयरपोर्ट पुगेको र गएर टेन नम्बर वे मा लिएर आउनु पर्छ भनेर भनेको संसदलाई जानकारी दिए ।

आफ्नो यस्तो खटाइलाई स्टन्टबाजी भनिएको भनेर गृहमन्त्री सुधनले चित्त दृुखाएका हुन् ।

‘राति एयरपोर्ट म आफैँ गएको विषयलाई स्टन्टबाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाबाट चाहियो’ उनले भने । आफू क्यामेरासँग भाग्ने मान्छे भएको पनि उनले बताए ।

‘क्यामेरासँग भाग्ने मान्छेहरू हो हामीहरू । क्यामेरा आएर बोलेको तपाईले हतपत हामीलाई देख्नु हुँदैन । हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू हो’ सुधनको जवाफ छ ।

देखाए महानगर, पढाए संसदीय ममर्यादा

गणेश नेपालीको आत्मदाहको सन्दर्भमा सांसदहरूले जे जति सन्दर्भ जोडेर प्रश्न उठाए ती तीन तहको सरकारसँग सम्बन्धित रहेको भनेर गृहमन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार देखाए ।

‘अब आज म यो सम्मानित सदनमा तपाईंहरूलाई सरकार कसरी संचालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ । एउटा संघीय सरकार भयो । एउटा प्रदेश सरकार भयो । र एउटा स्थानीय सरकार भयो ।’

गणेश नेपालीले आत्मदाह गरेको ठाउँमा भएको घटनाका सन्दर्भमा उनले संघीय सरकार कति जिम्मेवार थियो भनेर प्रश्न गरे ।

‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको हैन’ गृहमन्त्रीले भने, ‘ट्राफिकले ह्वील लक गरेको हैन । कुनै भिडियो मा छ ट्राफिकले लगाएको त्यसमा ?’ गृहमन्त्री गुरुङले भने, ‘नगर प्रहरीले ह्वील लक लगाएको छ ।’

यहाँनेर उनले प्रदेश र स्थानीय सरकारमा पुरानै दल रहेको बताए ।

‘म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ’ उनले भने ।

ह्वील लक गर्ने लगायतका काम स्थानीय सरकारका प्रहरीले गरेको बताएका गृहमन्त्रीले घटना घटिसकेपछि भने तीन जना महानगरपालिका प्रहरीलाई सोधपुछ लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार छानबिनका लागि डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । निश्पक्ष छानबिन गरिने पनि उनको प्रतिबद्धता छ ।

गृहमन्त्री गुरुङले ट्राफिक जरिवाना कति लिने भनेर कसले नियम बनाएको भनेर प्रश्नकर्ता सांसदहरूलाई नै सोधे, ‘यो नियम/कानुन (ट्राफिक उल्लंघन सम्बन्धी नियम/कानुन) कसले बनाएको ?’

विगतमै बनेको नीतिअनुसार अहिले पनि सरकार अगाडि बढिरहेको भन्दै यसअनुसार गाडीबाट कालो सिसा हटाउने अभियान सुरु गरेको जानकारी दिए । ‘कालो सिसा लगायो । त्यो कालो सिसा लगाउन नपाउने नियम हामीले कोरेका थियौ ? तपार्इंहरुले बनाएको नियम हामीले पालना मात्र गराएको हो’ उनले भने ।

उनले विपक्षी दलका सांसदहरूले जानीजानी प्रश्न गरेको भनेर संसदीय मर्यादाको विषय उठाए ।

‘कति कुराहरु तपाईंहरुले जानेर अबुझ गर्नुभएको छ । धेरै भयो मैले सहेको’ उनले भने, ‘यो सम्मानीत सदनलाई एउटा रेस्पेक्टेड भिउ पोइन्ट बाट हेर्नु पर्छ, यसमा बोल्दा एकदम मर्यादा राखेर बोल्नु पर्छ भनेर आएको । तर घुटकन भैसक्यो ।’

देश राम्रो होला भनेर लडेर आएर सरकारमा रहेर काम गर्दै गर्दा विपक्षी दलबाट भएको व्यवहारबाट कहिलेकाहीँ गाह्रो भएको बताए । फेरि उनले विपक्षीप्रति रोष प्रकट गरे, ‘हामीहरू सबै युवाहरू एउटा आशाले लडेका थियौं । आज आएर विपक्षी दलका जतिजना मित्रहरू हुनुहुन्छ, जतिजना राजनीतिज्ञहरू हुनुहुन्छ, देश चलाएर ५० औं वर्ष राज गरेका माननीय ज्यूहरूबाट हामीले सिक्नु पर्नेमा आज हामीले यस्तो कुरा देख्न पाइरहेका छौं ।’

संसद्मा बोल्दा के गर्नुपर्ने थियो भनेर सांसदहरूले सुझाएको विषयमा गृहमन्त्रीले असन्तुष्टि जनाए, ‘अब यहाँ  सबैजना एक्सपोर्ट भइसकेका छन् । सबैजना डाक्टर भइसकेका छन् ।’

विपक्षीका सांसदहरूले व्यक्तिगत भेट्दा राम्रो गरेको भन्ने तर संसद्मा अर्कै तरिकाले प्रश्न गर्ने गरेको भन्दै गृहमन्त्रीले यस्तो दोहोरो नीति नअपनाउन विपक्षी दलहरूलाई भनेका छन् ।

‘माननीयज्युहरू अगाडि आउनुहुन्छ, एकदम ल भन्दै घुलमिल गरेर बोल्नुहुन्छ । पछाडि गरेर के गरेर बोल्नु भाको थियो ? सदनमा जे बोल्नुहुन्छ त्यसरी गरेर हामीलाई बाहिर पनि ट्विट गर्नु न । अनि पो हामीलाई थाहा हुन्छ त’ गृहमन्त्री गुरुङले भने, ‘त्यो पर्दा पछाडिको खेल हामीलाई मन पर्दैन ।’

 

प्रकाशित : २६ असार २०८३, शुक्रबार ००:००