काठमाडौँ,सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा वार्षिक एक अर्ब ६४ करोड ९१ लाख बचत हुने भएको छ। दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार आव २०७७–७८ को बजेटको सामान्य अनुमान गर्दा हप्तामा दुई दिनको बिदा दिँदा वर्षभरिमा उक्त रकम सरकारी कोषमा जम्मा हुने भएको हो।
दुई दिन सार्वजनिक बिदा हुँदा विभिन्न शीर्षकका खर्च कटौती हुनेदेखि उत्पादकत्व वृद्धि तथा सकारात्मक प्रभाव पर्ने समितिको निष्कर्ष निकालेको छ। दुई दिन बिदा हुँदा इन्धन, विद्युत्, पानी तथा सरसफार्इ, यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशत खर्च कटौती गर्न सकिने समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार दुई दिन बिदा हुँदा उत्पादकत्व बढ्ने, आन्तरिक पर्यटन बढ्ने, लैङ्गिक समानता कायम हुने, कर्मचारीको व्यक्तिगत जीवन सन्तुलित हुने, पारिवारिक सामीप्यता कायम हुने जस्ता सकारात्मक प्रभाव पर्ने देखिएको छ। यस्तै, प्रतिवेदनले श्रीमान् श्रीमती व्यस्त हुँदा काम तथा व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन, बालबच्चाको उचित रेखदेख तथा स्याहारसुसार गर्न सकिने जस्ता व्यावहारिक कारण देखाइएको छ। प्रतिवेदनमा अन्तर्राष्ट्रिय अभ्याससमेत उल्लेख गरिएको छ।
प्रतिवेदनमा शुक्रबार १० बजेदेखि ३ बजेसम्म हुने कार्यालयको समयलाई अरु पाँच दिनको कार्य समयमा थप गर्ने जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहेका थिए।











प्रतिक्रिया