Breaking News Post

नेपालमै बनेको भोटिङ मसिनले १२ वर्षपछि बल्ल पायो पेटेन्ट दर्ताको प्रमाणपत्र


२६ श्रावण २०८३, मंगलबार ००:००


काठमाडौं । नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान र विकास (R&D) भइरहेको स्वदेशी विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मसिन) ले आधिकारिक रूपमा पेटेन्ट अधिकार प्राप्त गरेको छ । नुवाकोटका दुई आविष्कारक दाजुभाइले तयार पारेको यो प्रविधिलाई नेपाल सरकार, उद्योग विभागले पेटेन्ट दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. १२ निवासी रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले आविष्कार गरेको क्यान्डिडेट आईडी बेस्ड इलेक्ट्रोनिक भोटिङ मसिन (Candidate ID Based Electronic Voting Machine) लाई विभागले कानुनी रूपमा सुरक्षा दिएको छ । उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा ७ बमोजिम गत १४ जुलाई २०२६ मा यो दर्ता प्रमाणपत्र जारी गरेको हो । यसबारेको विस्तृत विवरण नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

ब्यालेट सोलुसन प्रालिका अनुसार आविष्कारक रिमालले विगत १३ वर्षदेखि यस प्रविधिको विभिन्न चरणमा अनुसन्धान, डिजाइन, विकास, परीक्षण र प्रयोग गर्दै आएका थिए । नेपालको आवश्यकता र स्थानीय परिवेशलाई सुहाउँदो गरी विकास गरिएको यो प्रविधि हाल विभिन्न राष्ट्रिय राजनीतिक दल, संघ-संस्था, विश्वविद्यालय तथा सामाजिक क्षेत्रका निर्वाचनहरूमा सफल रूपमा प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

कसरी काम गर्छ ?

यो उपकरणले उम्मेदवारको पहिचान नम्बर (Candidate ID) लाई मुख्य आधार बनाएर मतदान प्रक्रियालाई विद्युतीय माध्यमबाट व्यवस्थित गर्दछ । यस प्रविधिले मतदान प्रक्रियालाई सरल, व्यवस्थित र छिटो बनाउनुका साथै समग्र निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

नेपाली आविष्कारक र अनुसन्धानकर्ताहरूका लागि यो पेटेन्ट अधिकारले थप उर्जा र प्रेरणा जगाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्ता प्राविधिक उपकरण, नयाँ आविष्कार र बौद्धिक सम्पत्तिको संरक्षणका लागि नेपाल सरकारले पनि औद्योगिक सम्पत्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तयार पारी काम अगाडि बढाइरहेको छ ।

लाजिम्पाट, काठमाडौँमा कार्यालय रहेको ब्यालेट सोलुसन प्रालिले स्वदेशमै विकास गरिएको यो प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने लक्ष्य लिएको छ ।

 

प्रकाशित : २६ श्रावण २०८३, मंगलबार ००:००