विचित्र संसार

सोताङका वडाअध्यक्षले गरे बेजिल्लेलाई नागरिकता सिफारिस, ५ जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार ००:००


सोलुखुम्बु – सिन्धुलीका एक व्यक्तिले झुटो विवरण पेश गरेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट नागरिकता लिएको तथ्य बाहिर आएको छ । २०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ – ४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाई भन्ने सनाखत गरि झुटो विवरण पेश गरेको खुल्न आएको हो ।

स्रोतका अनुसार गत साउन २० मा सोताङ गाउँपालिका ४ मा जन्म दर्ता गराएका थिए । नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष राम कुमार राईले झुटो विवरणको आधारमा सिफारिस गरेको खुलासा भएको छ । वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिएका थिए ।

झुटो विवरण देखाएर नागरिकता लिएको उजुरीको आधारमा नागरिकता लिने र दिलाउन दाईको भूमिका निर्वाह गरेका शुक्र तामाङलाई प्रहरीले साउन २५ नै पक्राउ गरेको छ । नागरिकता प्राप्तीका लागि साक्षि बस्ने सोताङ – ४ का सुदिप राई, टिकाराम राई र सुर्य बहादुर राईलाई समेत पक्राउ गरिएको छ ।

उनीहरु माथि अनुसन्धान भईरहेको छ । नागरिकताका लागि झुटो विवरण सिफारिस गर्ने वडाध्यक्ष र वडा सचिवलाई पनि जिल्ला डाकिएको स्रोतले जनाएको छ । सिन्धुलीका व्यक्तिलाई नागरिकता दिलाउने घटनामा जनप्रतिनिधि र कर्मचारीे आर्थिक प्रलोभनमा परेको स्थानीयले आशंका गरेका छन् ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार ००:००