ताजा घटना

प्रवीणको हत्यापछि थापाकी प्रेमीका लगायत साथीहरु माथि प्रहरीले अनुसन्धान सुरु


५ माघ २०७७, सोमबार ००:००


बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमीका लगायत साथीहरु माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । बाँके प्रहरीले भने, उनकी प्रेमीका लगायत साथीहरुको नाम भने सार्वजनीक गरेको छैन । प्रहरी श्रोतका अनुसार घटनास्थलबाट ड्रग्स खाने सामाग्री लगायतका विभिन्न सामग्री समेत बरामद भएको छ ।

बाँके प्रहरीे श्रोतले भन्यो, ‘घटना स्थलमा ड्रग्सका विभिन्न टुक्रा, ड्रग्स खान प्रयोग गरिने सामाग्री लगायतका वस्तु भेटिएको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदो घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए । नेपालगन्ज लग्दहवास्थित तोरीबारीमा शव भेटिएको थियो । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापाको शव भेटिएपछि बाँके प्रहरीले कुकुरसमेत लिएर शवको अनुसन्धान गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपि सुभाष खड्काका अनुसार मृतकको शरीरमा कुटपिटको डाम देखिएको बताए । थापाको टाउकोमा गहिरो घाउचोट लागेको छ । बिहीबार साँझ सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए । प्रहरी प्रवक्ता खड्काका अनुसार शुक्रबार नै मृतक थापामगरको शव भेरी अस्पताल नेपालगन्जमा पोष्टमार्टम गरिए पनि हालसम्म पोष्टमार्टम रिपोर्ट नआएको बताए ।

उनले राष्ट्रिय अनुसन्धान प्रहरीको हत्या भएपछि गम्भीरतापूर्वक घटनाको छानविन तथा अनुसन्धान गरेको बताए । प्रहरी प्रवक्ता खड्काले भने, ‘घटनाको वास्तविकता केही दिन मै अनुसन्धानबाट खुल्नेछ ।’ घटना अनुसन्धानका क्रममा थुप्रैमाथि प्रहरीको शंका रहेको र अनुसन्धान गर्ने कार्य जारी रहेको बताउनुभयो ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००