आर्थिक

अमेरिकाबाट १० लाख डलर ठगेर नेपाल आएका जोशीलाई १५ वर्षपछि दोषी ठहर


४ आश्विन २०८१, शुक्रबार ००:००


काठमाडौं, अमेरिकाबाट १० लाख डलर ठगेर नेपाल आएका पंकज जोशीलाई १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेकाे छ । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई करोड ६ लाख रुपैंया जरिवाना हुने फैसला गर्दै उनको खातामा रहेको रकम जफत हुने फैसला गरेको हो ।

अध्ययनका लागि नेपालबाट अमेरिका पुगेका पंकज जोशीले १० लाख डलर चिठ्ठा परेका एक व्यक्तिलाई झुक्याएर उनको रकम हात पारेका थिए । उनले अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा रकम भित्र्याएका थिए । त्यसलगत्तै विभिन्न चरणमा नेपालमा रकम पठाएका उनी केही समयपछि नेपाल आएका थिए ।

उनी नेपाल फर्केलगत्तै सम्बन्धित अमेरिकी नागरिकले आफूलाई चिट्ठा परेको र जोशीले झुक्याएर रकम कुम्ल्याएको थाह पाएपछि प्रहरीमा खबर गरे । अमेरिकी प्रहरीले अमेरिकामा समेत जोशीविरुद्ध ठगी मुद्दा चलाएको थियो ।

अपराधबाट आर्जित रकम नेपालमा भित्र्याएको थाह पाएपछि अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले नेपालमा पत्र पठाएको थियो । त्यसपछि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा हालेको थियो ।

गैरकानूनी काम गरेर रकम आर्जन गरेको अवस्थामा नेपालभित्र वा बाहिर जहाँ रहेको व्यक्तिहरुमाथि समेत अनुसन्धान हुनसक्ने भन्दै विशेष अदालतले पंकज जोशीमाथि मुद्दा दायर भएको घटनालाई स्वभाविक भनी व्याख्या गरेको छ ।

गैरकानूनी स्रोतबाट आर्जन भएको रकम लुकाउने उद्देश्यले अमेरिकाबाट नेपालमा पैसा पठाएको, कसुर गरेर रकम कमाएको भन्ने थाह हुँदाहुँदै नेपालको खातामा रकम जम्मा भएको भन्दै विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको हो । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गर्नासाथ त्यो कसुर हुने भनी व्याख्या गरेको हो ।

‘मूल कसूरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन सम्पत्ति शुद्धीकरण गरिएको देखिन्छ । यो एउटा बहुआयामिक वित्तीय अपराध पनि हो’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मूल अपराध लुकाउने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन ।’

अमेरिकाबाट नेपाल आएका पंकजले आफूविरुद्धको मुद्दाको प्रतिवाद नगरी मौन बसेका थिए । नेपालमै बसेर पनि मुद्दाको प्रतिवाद गर्ने अवसर हुदाहुदै उनी मौन रहेकोमा विशेष अदालतले प्रश्न उठाएको हो । विशेष अदालतले त्यहाँ मुद्दा चलेकाले मात्रै नेपालमा नेपालमा निर्णय नगरी बस्न नमिल्ने व्याख्या गरेको छ ।

‘एउटाले गरेको अपराधबाट दुई देशको दौत्य सम्बन्ध प्रभावित हुनु हुँदैन । तर यस्ता आपराधिक गतिविधिले नेपाल जस्ता मुलुकको अन्तर्राष्ट्रिय छविमा धक्का लाग्ने सम्भावना समेत रहन्छ’ विशेष अदालतले फैसलामा भनेको छ, ‘तसर्थ यस्ता अपराधमा संलग्नलाई अपराध प्रमाणित भएमा कानूनको कठघरामा उभ्याउनु कानूनी राज्यको उद्देश्य रहेको हुन्छ । विशेष अदालतले उनलाई कुनै कैद नगरी दुई करोड ६ लाख जरिवाना गर्दै उनको नेपालस्थित बैंकखातामा रहेका रकमहरु रोक्का हुने फैसला गरेको हो ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ००:००