Breaking News Post

संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने : सभामुख घिमिरे


८ चैत्र २०८१, शनिबार ००:००


काठमाडौँ, सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुङ्गो लगाउने काममा लागिरहेको बताए ।

उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताए । सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए ।

संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको भन्दै उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको बताए । सङ्घीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको बताए । उनले सङ्घीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र सङ्घीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले वित्तीय सङ्घीयताको पक्ष सन्तोषजनक रहेको पनि बताए ।

प्रकाशित : ८ चैत्र २०८१, शनिबार ००:००