काठमाडौं, शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेको आज २३ दिन पूरा भएको छ। गत चैत २० यता शिक्षकहरूले दिनहुँ माइतीघर-बबरमहल सडक खण्डमा प्रदर्शन गरिरहेका छन्।
शिक्षकको आन्दोलनले २०८२ को नयाँ शैक्षिक सत्र प्रभावित भएको छ। एसईईको उत्तर पुस्तिका जाँचमा अवरोध सिर्जना भएको छ। वैशाख ११ बाट हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ। अब परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन्।
‘१० दिनका लागि परीक्षा सरेको हो। अहिले कै रुटिनअनुसार वैशाख २१ देखि परीक्षा सञ्चालन हुनेछ,’ उनले भने। मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थि ।
उक्त निर्णयको चौतर्फी आलोचना भएपछि बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए। लगत्तै बोर्डले १० दिन परीक्षा सार्ने निर्णय गरेको थियो।
कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने भनेपछि २१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षा बहिष्कार गर्दै आन्दोलनमा सहभागी हुन काठमाडौं बोलाएको थियो।
माग सम्बोधन नभए २१ वैशाखदेखि परीक्षा सञ्चालन हुने कुनै टुंगो छैन। शिक्षक आन्दोलन यति पेचिलो बनिसकेको छ कि शिक्षामन्त्रीबाट विद्या भट्टराई राजीनामा दिन बाध्य भएकी छन्। स्वास्थ्यलाई कारण देखाएर राजीनामा दिए पनि भट्टराईले शिक्षकका माग सम्बोधनमा प्रधानमन्त्रीलाई बुझाउन नसक्नु नै प्रमुख कारण रहेको बताइँदै आइएको छ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन्। प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरेसँग छलफल गरे पनि शिक्षक माग सम्बोधन हुनेमा विश्वस्त हुन सकेका छैनन्। सरकारले यसअघि आफूहरूसँग पटकरपटक सम्झौता गर्दै धोका दिने काम गरेकाले यस पटक ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने उनको चेतावनी छ।











प्रतिक्रिया