काठमाडौं, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दुई घण्टा पर सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
समितिमा निजी विद्यालयको व्यवस्थापन र सञ्चालनका साथसाथै ईसीडी र शिक्षकका मागको विषयमा सहमति जुट्न सकेको छैन । सोही विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको बताइएको छ ।
समितिले असार १३ गतेसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरिरहेको भापति थापाले जानकारी दिए । उनले विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने बताए ।
बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । नेताहरूले विवादित विषयलाई साँघुरो बनाउँदै लगिएको जानकारी दिएका छन् ।
सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति गरे पनि अहिलेसम्म समितिले प्रतिनिधिसभामा पठाउन सकेको छैन ।
ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेपछि सरकारसँग बैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्नेगरी सहमति जुटेको थियो ।











प्रतिक्रिया