पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी आवको बजेटमा उठेका विषयको जवाफ दिँदै प्रतिनिधिसभा बैठकमा सरकारले सडक सुरक्षा, ग्रामीण सडक तथा पुललाई प्राथमिकता दिएर आगामी आवको बजेट विनियोजन गरिएको बताएको थिए । उनले आगामी तीन वर्ष भित्र सडकलाई खाल्डाखुल्डी र जोखिमरहित बनाउने लक्ष्य अनुसार योजना बनाइएको समेत जानकारी दिएका थिए । उनका अनुसार सडक सुरक्षामा तीन वर्षे योजनासहित पौने ५ अर्ब रुपैयाँ बजेट राखिएको छ ।
पहिचान भएका पहिरो जोखिम क्षेत्रमा संरक्षणको काम गर्न २३ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले संसदमा दिएको जवाफमा उल्लेख छ । उनका अनुसार खोल्साखोल्सी र जोखिमयुक्त स्थानमा दुर्घटना न्यूनीकरणका लागि ३ हजार स्थानीय पुल निर्माण गर्ने लक्ष्य छ । आगामी तीन वर्षमा कुल ८१ अर्ब २२ करोड रुपैयाँ यस्ता परियोजनामा खर्च गर्ने लक्ष्य समेत सरकारले लिएको छ । सरकारले स्वीकृत राजमार्गहरुको पहिरो नियन्त्रण गर्न अबण्डामा मात्र १५ करोड ८१ लाख रुपैयाँ रकम छुट्याएको छ ।
कुन राजमार्गमा छन् जोखिमपूर्ण पहिरो, कति बजेट ?
पूर्वाधार विकास मन्त्रालयले कोशी राजमार्गको केवाबेशी–सभाखोला–खाँदबारी सडक खण्डका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पुष्पलाल राजमार्गमा पर्ने लेगुवा–भोजपुर खण्डका लागि समेत ३ करोड २४ लाख बजेट राखिएको छ ।
धनकुटामा मुलघाट–पात्लेखोला सडकले ५ करोड बजेट पाएको छ । हिलेपानी–ओखलढुंगा र मुढे–सल्लेरी सडक खण्डका लागि ४ करोड बजेट राखिएको छ । हलेसी–दिक्तेल खण्ड र दिक्तेल चखेवा सडक खण्डका लागि प्रतिखण्ड ३ करोड ५० लाख रपैयाँ विनियोजन भएको छ ।
सरकारले अरनिको राजमार्गको बाह्रबिसे–कोदारी सडक खण्डका लागि ६ करोड ९५ लाख छुट्याएको छ । सोही राजमार्गको दोलालघाट–लामोसाँघु खण्डमा ६ करोड १५ लाख रकम छुट्याइएको छ । चरिकोट–सिंगटी सडकमा ३ करोड विनियोजन गरिएको छ ।
चीनसँगको अर्को व्यापारिक मार्ग बालाजु–बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डका लागि ९ करोड बजेट विनियोजन भएको छ । आपटारी–मुग्लिन खण्डमा ६ करोड ४५ लाख र खैरेनीटार–भीमाद–कावासोती सडकको भुमरिघाट–पाङ्ग्रे–नवलपुर खण्डमा ३ करोड ६९ लाख रुपैयाँ बजेट राखिएको छ ।
सीतापाइला–भीमढुंगा सडकमा ३ करोड, सामाखुसी–टोखा–गुर्जे सडकमा ३ करोड ५० लाख र बालाजु बाइपास नागार्जुन ठूलो खोलामा ३ करोड बजेट परेको छ । नौबिसे–मुग्लिङ–पोखराका लागि ३ करोड रकम विनियोजन भएको छ । सरकारले आबुखैरेनी–गोरखा घ्याम्पेसाल सडकको तीन स्थानका लागि क्रमशः ३ करोड, ३ करोड ५० लाख र ३ करोड रुपैयाँ बजेट राखेको छ । खैरेनीटार–भिमाद–कावासोती सडकलाई ३ करोड बजेट विनियोजन भएको छ ।
सिद्धार्थ राजमार्गको राम्दी–स्याङ्जा–पोखरा खण्डकलाई २ करोड २५ लाख विनियोजन गरिएको छ । मध्यपहाडी राजमार्गको पोखरा–हरिचोक–हेम्जा–नयाँपुल–मालढुंगा खण्डलाई ९ करोड १० लाख रुपैयाँ राखिएको छ । कालिगण्डकी पुल–पातिहाल्ने खण्ड बागलुङलाई ५ करोड ३६ लाख विनियोजन भएको छ । सोही खण्डको अर्को स्थानमा २ करोड २५ लाख विनियोजन भएको छ । तौलिहवा–गोरुसिंगे सन्धीखर्क सडकलाई ३ करोड २० लाख रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
वर्तुङ–तानसेन–रिडी–वामिटक्सार–खर्वाङ सडकको रिडी–रुद्रवेणी–वामिटक्सार सडकलाई ५ करोड २७ लाख रकम विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गको रानीमहल–रिडी खण्डमा ३ करोड २१ लाख छुट्याइएको छ । भालुवाङ विङ रोल्पा माडीचौर दारबोट सडकको भालुवाङ चकचके खण्डका दुई योजनामा ४/४ करोड बजेट राखिएको छ । राप्ती राजमार्गको अमिलियादेखि खौलापाससम्म ४ योजनामा क्रमशः १ करोड ६० लाख, ५ करोड २३ लाख, १ करोड ९३ लाख र ३ करोड बजेट राखिएको छ ।
जमुनाह–नेपालगन्ज कोहलपुर हर्रे खण्डमा ३ करोड, खौलापास पिपल छरेबगर राप्ती राजमार्गलाई ३ करोड रकम विनियोजन गरिएको छ । स्यालापासा–मुसीकोट–चौरजहारी खण्डका चार योजनालाई ३/३ करोड बजेट विनियोजन भएको छ । कर्णाली राजमार्गलाई ३ करोड बजेट छुट्याइएको छ ।
सुर्खेत दैलेख महाबुलेख गाल्जे नाग्मा गमगढी नाक्चालाग्ना सडकको नाग्मा गमगढी सडकका ५ योजनामा साढे १५ करोड बजेट छुट्याइएको छ । रारा राजमार्गको कुडारी ताल्चा–रारा खण्डलाई ३ करोड र सुर्खेत–दैलेख–महावुलेख–गाल्जे खण्डलाई २० करोड ८६ लाख बजेट राखिएको छ ।
जमुनाह नेपालगन्ज कोहलपुर सुर्खेत जुम्ला सडकका दुई योजनामा क्रमशः ३ करोड ६३ लाख र ३ करोड १७ लाख रकम विनियोजन भएको मन्त्रालयले जनाएको छ । धनगढी–सअजपुर–बुडर–स्याउले सडकले १ करोड ६० लाख पाएको छ । मध्यपहाडी राजमार्गको सिलगढी–स्याउले बजार खण्डका तीन योजनामा ७ करोड ६० लाख बजेट विनियोजन गरिएको छ । सोही राजमार्गको मंगलसेन–बयलपाटा–साँफेबगर–चौखुट्टे खण्डमा करोड २१ लाख रकम छुट्याइएको छ ।
साँफेबगर–मार्तडी–कोल्टी सडकमा मात्र सबैभन्दा धेरै ५० करोड बजेट छुट्याइएको छ । सो सडकको साँफेबगर–रक्से–कोल्टी–ओखार्तोला–मार्तडी खण्ड तथा बुढिनन्दा नदीमा यातायात सञ्चालन गर्न सो रकम खर्च गरिने मन्त्रालयले वार्षिक विकास कार्यक्रममा उल्लेख गरेको छ ।
खोड्पे–चैनपुर खण्डको खोड्पे–वित्थड खण्डका चार योजनालाई साढे १० करोड विनियोजन भएको छ । सतबाँझ–थाकतोली–दार्चुला–टिंकर सडकको गोकुलेश्वर–दार्चुला सडकका ३ योजनामा साढे ९ करोड बजेट विनियोजन गरिएको छ । अनारखोली पाटन सतबाँझ झुलाघाट सडकका दुई योजनामा ६ करोड ७८ लाख बजेट परेको छ । धनगढी–अत्तरिया सहजपुर सडकलाई १ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।











प्रतिक्रिया