मनोरञ्जन

‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता,भोलिदेखि देशब्यापी रिलिज हुने


१७ माघ २०८१, बिहिबार ००:००


काठमाडौं,‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको छ । विहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर स: टेक वन’का निर्माता मोती कार्कीले बताएका छन । ‘एक्टर स: टेक वन’ भोलिदेखि देशब्यापी रिलिज हुने भएको छ ।

दुबै फिल्मका निर्माताबीच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’का निर्माताले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ । ‘हामीहरूबीच आन्तरिक सहमति भएको छ’ निर्माता कार्कीले भने ।

कुन बुँदामा सहमति भएको उनले खुलाएनन् । सहमतिपछि दुबै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् । ‘आजैदेखि हल खुलाउने हाम्रो प्रयास हुनेछ’ कार्कीले भनेका छन ।

सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले हस्ताक्षर गरेका छन् । सहमतिपछि ‘एक्टर : टेक वन’ रिलिज हुने बाटो खुलेको छ ।

वितरण कम्पनी डिजिटल सिनेमा नेपालले शुक्रबारदेखि प्रदर्शनमा आउने जनाएको छ । डीसीएनले सबै हललाई इमेल गर्दै भोलिको लागि शो तय गर्न आग्रह गरेको छ । ‘फिल्म भोलिदेखि रिलिज हुँदैछ । सोहीअनुसार प्रदर्शन तालिका तय गर्नुहोला’ डीसीएनकी हेमा अधिकारीले हललाई लेखेको पत्रमा उल्लेख छ ।

चलचित्र विकास बोर्डले पनि चलचित्र संघलाई पत्र लेख्दै भोलिदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ । निर्माताले विहिबार पत्रकार सम्मेलन गर्दै फिल्म शुक्रबारदेखि रिलिज हुने जनाएका छन् ।
एड्भान्स टिकट विक्री हलले आजैदेखि सुरु गरेका छन् । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले बुकिङ आजैदेखि सुरु हुने बताए ।

एक्टर’ र ‘एक्टर : वन’ फिल्मका निर्माताबीच विहिबार भएको सहमतिपछि रिलिजको बाटो खुलेको थियो । सहमतिमा ‘एक्टर’का निर्माताले काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दालाई फिर्ता लिने सहमति भएको थियो । एक्टर’ फिल्मतर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले शुक्रबार अदालत खुल्ने वित्तिकै मुद्दा फिर्ता लिएर तामेलीमा राखिने बताए ।

प्रकाशित : १७ माघ २०८१, बिहिबार ००:००