आर्थिक

उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कारसहित सम्मान गर्ने


१५ कार्तिक २०८१, बिहिबार ००:००


काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो ।

उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्। बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

याे पनि पढनुहाेसः

काठमाडौँ, दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गरेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।

साफ च्याम्पियनसिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो । फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् ।

साफ च्याम्पियनसिपमा उनले समूह चरणको पहिलो भूटानविरुद्धको खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए । सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलङ्का र सेमिफाइनलमा भारतविरुद्धको खेलमा समान एक÷एक गोल गरेकी थिइन् । यस साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक तामाङले बुधबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित : १५ कार्तिक २०८१, बिहिबार ००:००