खेलकुद

तनहुँमा पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता


२९ मंसिर २०८१, शनिबार ००:००


तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए । उनले भने, ‘समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौ।’

खेल व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । हाल व्यास नगरपालिकालगायत अन्य स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने विभिन्न प्रकारका खेलकुदका लागि बजेट विनियोजन गर्न लागेको सुवेदीको भनाइ छ।

याे पनि पढनुहाेसः

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन् । तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताए ।

काठमाडौँ महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु भएको बताए । उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए ।

महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गरे ।

महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए । उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिइन् । वि.सं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मङ्सिर २९ गते काठमाडौँ महानगर घोषणा गरिएको हो ।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार ००:००