काठमाडौं, दशैं टीकाको दिन काठमाडौं–३२, तिनकुने गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, काठमाडौं–३२ विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउ परेका हुन् ।
सीसी टीभी फुटेज र प्राविधिक विश्लेषणका माध्यमबाट खोजतलास गर्दा मंगलबार उनलाई कुपन्डोलमा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।
एसपी अधिकारीका अनुसार, विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिँदा राम गम्भीर घाइते भएका थिए । उनले लगत्तै रामलाई केएमसी अस्पताल पुर्याएर फरार भएका थिए । घाइते रामलाई उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, सत्ताको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले व्यवसायी मीनबहादुर गुरुङले गरेको दानबाट नेकपा एमालेको पार्टी कार्यालय बनाउने कार्यको विरोध गरेका छन् । विजयादशमीको एकदिन अघि एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।
एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिएका छन् । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमाले विरोध भएको छ । सत्ताको प्रमुख दल कांग्रेसका नेताहरुले ‘विवादित’ व्यवसायीबाट दान लिएर पार्टीक कार्यालय बनाउने कार्यको विरोध गरेका हुन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टी कार्यालय पार्टी सदस्यहरुको सहयोगबाट बनाउन उचित हुने विचार राख्छन् । कार्यालय बनाउन कार्यकर्ताले योगदान गर्न पाउनुपर्ने शर्माको मत छ । शर्मा भन्छन्,‘भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ, भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ ।
कांग्रेसको केन्द्रीय कार्यालय मूलतः पार्टी सदस्यकै सहयोगमा निर्माण भएको शर्माको जिकिर छ । ‘कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा सरिक छ । तर मूलत यसमा पार्टी सदस्यको मन जोडिएको छ, कांग्रेसको केन्द्रीय कार्यालय पार्टी स्वयंले बनाएको बताउँदै शर्मा भन्छन्, ‘श्रमिक, किसान, सयौं शुभचिन्तक एवं समर्थकको अपनत्व र स्वामित्व यसमा छ । त्यसबेलाका ४ लाख बढी कृयाशिल सदस्यको सदस्यताको रकम यसमा प्रयोग भएको छ ।’
देशको राजस्व बढाउने र रोजगारी सिर्जनाको दायरा विस्तारित गर्ने कार्यमा निजी क्षेत्रलाई संलग्न गर्नुपर्ने शर्माको मत छ । भूकम्प प्रभावितका घर, गाउँमा शैक्षिक संस्था र स्वास्थचौकीका भवन, पुल, रंगशाला निर्माण लगायतमा निजी क्षेत्रलाई संलग्न गराउन उपयुक्त हुने शर्माको धारणा छ ।
कांग्रेस नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा एमालेको पार्टी कार्यालय निर्माणमा व्यवसायी गुरुङको दानप्रति असन्तुष्टि व्यत्तल गरेका छन् । पार्टी कार्यालय व्यवसायीको रकमले बनाउने कार्यले प्रधानमन्त्री केपी ओली र ‘समाजसेवी’ गुरुङको शाख नउठेको टिप्पणी खतिवडाले गरेका छन् । उनी भन्छन्,‘केही नलेखेर बस्न मन थियो तर मन मानेन । यो समयमा विपत्ति पीडितलाई दुवै जनाले सहयोग गरेको भए कत्ति राम्रो हुन्थो होला र?’
कांग्रेसका अर्का केन्द्रीय सदस्य नैनसिंह महर दानबापत पाएको जग्गा एमालेले फिर्ता गर्नुपर्ने विचार राख्छन् । जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेकाले प्रधानमन्त्रीले कसैबाट दानदातव्य र नजराना लिनु सुशासनको खिलाप हुने महरले बताए । व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभए सम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपुर्ण हने महरको ठहर छ । ‘नेकपा एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ, महरले भने ।











प्रतिक्रिया