गृह पृष्ठ

मोटरसाइकलको ठक्करबाट घाइते ७ वर्षीय आयुषको मृत्यु,चालक बारे भेटिएन क्लु


१ पुस २०८१, सोमबार ००:००


काठमाडौँ, सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि स्थानीले प्रदर्शन जारी राखेका छन् । मंसिर २८ मा साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरिरहेका छन् ।

घटनास्थलमा मोटरसाइकलको भाइजरको टुक्रा फेला परेको छ । तर, मोटरसाइकल नम्बर र चालकको बारेमा अहिलेसम्म कुनै पनि क्लु नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले बताए ।

स्थानीय प्रशासनले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा घटनास्थलमा जाँदैछन् । राजमार्ग खुलाउनेबारे स्थानीयसँग कुरा गर्न आफू दुधौली जाँदै गरेको प्रजिअ शर्माले बताए । उनले भने– ‘एसपी सा’व र म घटनास्थलतर्फ जाँदैछौँ ।’

बागमती प्रदेशको ट्राफिक ब्यवस्थापन हेर्ने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदी पनि घटनास्थलमा जाँदैछन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर खुलेको छैन ।

काठमाडौँको केएमसीमा मृत्यु भएका बालको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । स्थानीयले दुर्घटनामा संलग्न चालकलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै मदन भण्डारी राजमार्ग र धनसरी सडक खण्डमा प्रदर्शन गरेका हुन् ।

प्रकाशित : १ पुस २०८१, सोमबार ००:००