गृह पृष्ठ

आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि देखा पर्न सुरु,सतर्कता अपनाउन सुझाव


२२ श्रावण २०८०, सोमबार ००:००


देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि फाट्टफुट्ट मात्रामा देखा पर्न सुरु भएको छ । जिल्लामा अन्यत्रबाट आएका व्यक्तिहरुमा यस प्रकारको रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

केन्द्रका आँखा कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिनयता काठमाण्डौँ तथा अन्यत्रबाट जिल्ला भित्रिएका व्यक्तिहरु आँखा पाक्ने समस्या लिएर उपचारका लागि आउने गरेका छन् । सामान्यतय आँखा पाक्ने रोग विगतमा पनि देखिने भएपनि हाल देशभर यस प्रकारको प्रकोप बढेकाले जिल्लामा पनि फैलिन सक्ने आँखा कार्यकर्ता राईको भनाई छ ।

जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ५ देखि ७ जना सम्म आँखा पाक्ने समस्या लिएर आउने गरेको कार्यालयको तथ्यांक छ । जसमा धेरै जसो अन्यत्र जिल्लाबाट आएका विरामी रहेको उहाँको भनाई छ । यो रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने चिकित्सले बताएका छन् ।

सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन केन्द्रका आँखा कार्यकर्ता राईको सुझाव छ । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ ।

आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधी प्रयोग नगर्न समेत आँखा केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ००:००