काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार गृह मन्त्रालयमा पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को टोलीसँग भनेका छन्, ‘भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ । प्रहरी स्रोतका अनुसार भट्ट प्रकरणमा प्रविधिको प्रयोग भएकाले निर्मला प्रकरण जस्तो जटिल नभएको ब्रिफिङ गरिएको थियो ।
त्यही आधारमा बादलले यो अभिव्यक्ति दिएका हुन् । तर, हालसम्म अनुसन्धानमा गतिलो सुराक फेला परिसकेको छैन । अनुसन्धान अधिकृतहरु नै भन्छन्, ‘अनुसन्धान यो चरणमा छ भन्ने नै हुँदैन कि सतप्रतिशत हुन्छ कि शून्य । त्यसैले कहिले सफलता मिल्छ भन्न गाह्रै छ । यद्यपि, यो केशमा केही सहज पाटाहरु नभएका होइनन् ।’
सीआईबीले गर्दैछ प्राविधिक विश्लेषण
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी भट्ट प्रकरणमा म्यानुअलसँगै प्राविधिक पक्षको अनुसन्धानलाई जोड दिइएको बताउँछन् । त्यसका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली खटिएको छ । टोलीले भट्ट हराएको बुधबारदेखि बिहीबार साँझसम्म बैतडीको दोगडाकेदार नगरपालिका–७ स्थित घटनास्थल आसपासको समयमा सक्रिय मोबाइल नम्बरहरुको विश्लेषण थालेको छ ।
एक अधिकृतका अनुसार घटना भएको आसपासको समयमा धेरै नम्बरहरु पनि सक्रिय देखिएका छैनन्, जसले प्राविधिक विश्लेषणलाई सहजता पुर्याउने उनको भनाइ छ । ‘तराईतिर भएको भए, एकदमै धेरै मोबाइलहरु सक्रिय देखिन्थे, त्यसले अनुसन्धान प्रक्रिया जटिल हुनसक्थ्यो’, उनी भन्छन् ।
बीटीएस टावरको आधारमा सक्रिय मोबाइलको विश्लेषणमा प्रहरीलाई एउटा चुनौती पनि रहेको अधिकृतहरु बताउँछन् । उनीहरु भन्छन्, ‘एकैठाउँमा दुई÷तीन ठाउँको टावर पनि ठोक्किने हुँदा केही अफ्ठ्यारा पनि छन् । यसबाहेक घटनास्थल नजिकै भेटिएको भट्टको मोबाइल फोनको कल डिटेल रेकर्ड (सीडीआर) निकालेर पनि प्रहरीले विश्लेषण गरिरहेको छ ।
भट्टले एउटा एनटीसी र अर्को भारतीय सीम कार्ड प्रयोग गर्ने गरेको देखिएको छ । ‘भारतीय सीमको डिटेल्स पाउन गाह्रो छ यद्यपि, उताका प्रहरीसँग पनि समन्वय गरिरहेका छौं’, अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् । भट्टको मोबाइलबाट केही विषय डिलिट गरिएको समेत हुनसक्ने आशंकामा प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।
जिल्ला अस्पताल, बैतडीमा भट्टको भजाइनल स्वाब निकालेर परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालामा स्वाबमा पुरुषको वीर्य भए/नभएको जाँच हुनेछ भने आवश्यकता अनुसार डीएनए परीक्षणसमेत हुने स्रोतले बताएको छ ।
घटनास्थल आसपास हिँड्ने व्यक्ति र सवारी धनीहरुसँग सोधपुछ
जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार प्रहरीले घटनास्थल आसपास हिँड्ने व्यक्तिहरुसँग पनि सोधपुछ गरेको छ । बुधबारदेखि बिहीबारको अवधिमा घटना भएको बाटोबाट हिँडेका सवारी साधनहरुका धनीसँग पनि बुझ्ने कार्य भइरहेको छ’, धामीले अनलाइनखबरसँग भने ।
बुधबार विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । बिहीबार बिहान उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले उनको बलात्कारपछि हत्या भएको देखाएको छ ।










प्रतिक्रिया