Breaking News Post

‘पानी पतिया’माथि लण्डनमा बहस


२५ कार्तिक २०८१, आइतबार ००:००


काङमाङ नरेश राईको पुस्तक ‘पानी पतिया’ माथि लण्डनको साउथ ह्यारोमा शनिबार पुस्तक वार्ता भएको छ । छ जना वक्ताले लाहुरेहरूले विदेश गएर नेपाल फर्किँदा चोखिनका लागि गरिने ‘पानी पतिया’ प्रथा र समग्र गोर्खा भर्तिमाथि आफ्नो धारणा राखे । निकै झरिलो बनेको विमर्श कार्यक्रममा वक्ताहरूले गोर्खा भर्तीका आयाम र त्यसभित्र भएका असमानता अझै पनि कायम रहेकोले यसबारे प्रशस्त बहस र छलफल हुनुपर्ने बताए ।

पहिलो वक्ता निर्भीकजंग रायमाझीले ‘गोर्खा फौजभित्र हिन्दुकरण गरिएको हिजोको इतिहासलाई आक्रोशको रूपमा नभई एक तीतो पाठको रूपमा सिकेर सबै जाति र धर्मका सेनाले अबदेखि आ-आफ्नो धर्म, संस्कार र संस्कृति मान्दै जानुपर्ने’ बताए । अर्का वक्ता छेत्राकला राईले ‘गोर्खा भर्तीभित्र भएका असमानताको कुरा गर्दै जाँदा गोर्खा सिपाहीका श्रीमति, आमाहरूले भोगेको विभेद तथा जीवनभरिको कष्टको कथा पनि बाहिर आउनुपर्ने’ बताइन् ।

यस्तै वक्ता नरहाङ राईले गोर्खा आन्दोलनमा लागेका अगुवा नेता तथा अभियन्ताले पानी पतियाजस्तो पुस्तक पढ्न आवश्यक रहेको कुरा औल्याउँदै नेपाल सरकारले नै कडा ढंगले बेलायतसामु आफ्नो कुरा राख्न नसक्दा समस्या हल नभएको बताए । लेखक विजय सापकोटाले ‘लाहुरे’ भन्ने शब्दले नै अनेकौँ अर्थ दिने हुनाले समाजले लाहुरेलाई कहिले होच्याउने त कहिले बहादुर भनेर फुर्क्याउने गरेको तथ्य स्मरण गरे । सापकोटाले लाहुरे बन्नु शान, मानको कुरा नभई नेपालीको बाध्यता रहेको कुरा नेपालको पाठ्यक्रममा पढाइ हुनुपर्ने बताए ।

कवि केदार संकेतले भने गोर्खा फौजभित्र दुख पाएका जागिरबाट यसै निकालिएकाहरूले आफ्नो कथा आफैं भन्न थालेमात्र सही इतिहास बाहिर आउने उल्लेख गरे । लेखक गणेश राईले गोर्खा बन्ने सपनाले गर्दा आदिवासी युवाको पढाइ बीचमै अपुरो हुने र त्यसको कारणले भविष्यमा थप सफलता पाउन नसक्ने पक्ष उठाए । ‘एक तहसम्मको शिक्षाको कमी भएपछि युवाले आफूमाथि भएको असमानता तथा सानासाना विभेदबारे बुझ्न पाउँदैन । फलत राज्यले पानी पतिया वा अरू धार्मिक अन्धविश्वासमा लाहुरेलाई सामेल गराउने गर्छ’, लेखक राईले भने ।

विमर्श कार्यक्रमको सहजीकरण कवि खुपेन सुनुवारले गरेका थिए । अन्तिममा बोल्दै लेखक काङमाङ नरेशले अनुसन्धानमा आधारित पुस्तक लेख्दा भएका गल्तीहरू किताब आएपछि मात्र देखिने र सबैतिर थप जानकारी पाइने आफ्नो अनुभव सुनाए । काङमाङका अनुसार पुस्तकमा पानी-पतिया, छोइछिटो तथा गोर्खा सिपाहीका श्रीमति र आमाहरूले भोगेको पीडा आगामी संस्करणमा थप गरिने प्रतिबद्धता व्यक्त गरे ।
‘पहिचान पुरस्कार’का संस्थापक समेत रहेका लेखक काङमाङ नरेश राईको निबन्धात्मक गैरआख्यान ‘पानी पतिया’ यही वैशाखमा फिनिक्स बुक काठमाडौंबाट प्रकाशित भएको छ ।

प्रकाशित : २५ कार्तिक २०८१, आइतबार ००:००