समाचार

“थेम्स को लहरमा तमोरको स्पर्श” कवितासङ्ग्रह लिएर आईन् कवि शान्ति लिम्बू


२७ बैशाख २०८३, आइतबार ००:००


वैशाख २६,ललितपुर 

बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा लिखित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । ओयाम सरोकार समाज, काठमाडौँको आयोजनामा एक भव्य कार्यक्रम बिच कृति विमोचन भएको छ।

त्यस अवसरमा सङ्ग्रौलाले उक्त कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका बिषय समेटिएको बताउनुभयो । चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राख्नुभयो ।
कवि बिमला तुम्खेवा विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको बिषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको उल्लेख गर्नुभयो ।
कृतिको समीक्षा गर्ने क्रममा गुरुङ सुशान्तले उक्त कविता सङ्ग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताउनुभयो । नेपाली मानव सभ्यता र सांस्कृतिक अस्तित्वको सङ्कटलाई पुस्तकमा चित्रण गरिएको उहाँको भनाइ थियो ।

कवि शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको उल्लेख गर्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताउनुभयो । रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृतिमा स्त्री, प्रकृति, देश र परदेशका विषयवस्तु र भावलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार ००:००