Breaking News Post

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई कडा कारबाही गर्ने मन्त्री गौरिकुमारी यादवको चेतावनी


२९ जेष्ठ २०८३, शुक्रबार ००:००


काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी नदी र खोलामा सिधै विसर्जन गरेर प्रदुषण फैलाएको पाइएमा कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सिर्सिया नदी कोरिडोरका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदीमा मिसाइएको व्यापक गुनासो, उजुरी तथा सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

*कानुनी व्यवस्था र मापदण्ड पालना गर्न निर्देशन*
प्रचलित औद्योगिक तथा वातावरणीय कानुन बमोजिम उद्योग दर्ता वा क्षमता वृद्धि गर्दा र वातावरणीय अध्ययन प्रतिवेदन (IEE/EIA) स्वीकृत गर्दा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली (Effluent Treatment Plant-ETP) जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। स्वीकृत वातावरणीय व्यवस्थापन योजना (EMP) अन्तर्गत प्रदूषण न्यूनीकरणका उपायहरू (Mitigation Measures) को प्रभावकारी कार्यान्वयन गर्न र नेपाल सरकारले निर्धारण गरेको ‘Effluent Standard’ अनुरूप मात्र फोहोर पानी प्रशोधन गरी विसर्जन गर्न उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइसकेको छ।

*स्वास्थ्यमा गम्भीर असर पुर्‍याउनेलाई छुट नहुने*
नदी र खोला प्रदुषण गर्ने कार्य आधारभूत मानव स्वास्थ्यको दृष्टिले समेत गम्भीर सरोकारको विषय भएको भन्दै मन्त्री यादवले वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पार्नुभएको छ। सम्पूर्ण उद्योग प्रतिष्ठानहरूले प्रचलित औद्योगिक तथा वातावरण सम्बन्धी कानुन र मापदण्डको पूर्ण परिपालना गरी मात्र उद्योग सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ।
यदि औद्योगिक तथा वातावरणीय मापदण्डहरूको पूर्ण परिपालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बद्ध निकायहरूबाट कडा भन्दा कडा कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित : २९ जेष्ठ २०८३, शुक्रबार ००:००