२७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरूलाई विवेक थप्नका लागि अझै मेहनत गर्न आग्रह गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित अनलाइनखबरका ‘४० मुनिका ४०’ युवा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
उनले हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्ने बताउँदै अबको पालो युवाहरूको रहेको पनि बताए ।
‘राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र बनाउँदैन । हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईंहरूको पालो छ । एउटै आग्रह – आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौं,’ राष्ट्रपति पौडेलले सम्बोधनको क्रममा भने ।
साथै, उनले अनलाइनखबरले गरेको आजको सम्मानलाई अर्को जिम्मेवारीको सुरुवात बनाउन पनि आग्रह गरे ।
‘आजको सम्मानलाई अर्को जिम्मेवारीको सुरुवात बनाउनुहोस् । आफू सफल हुनुहोस् । अरूलाई पनि अघि बढ्ने बाटो बनाइदिनुहोस ्। आफ्नो सपना पूरा गर्नुहोस् । तर देशले देख्नुपर्ने ठूलो सपना पनि नबिर्सनुहोस्,’ उनले भने ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिबाट ४० युवाहरूको सूची सार्वजनिक गर्न थालेको हो ।
अनलाइनखबरको यो तेस्रो संस्करण हो ।











प्रतिक्रिया