काठमाडौँ, नेकपा एमालेले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने ठहर गरेको छ । पछिल्लो अवस्थामा कांग्रेसका महामन्त्रीलगायत अन्य शीर्ष नेताहरू सरकारको आलोचनामा उत्रिए पनि देउवा सहमतिप्रति दृढ रहेकाले तत्काल सरकार र गठबन्धन दायाँबायाँ नहुनेमा एमाले विश्वस्त भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर कांग्रेस नेता डा। शेखर कोइरालादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत सार्वजनिक रूपमै आलोचनामा उत्रेका छन् ।
यही बेलामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै त्यसो भएमा माओवादी जस्तोसुकै सहयोग गर्न तयार रहेको सार्वजनिक रूपमा बताइरहेका छन् ।
कांग्रेस नेताहरूबाटै लगातार सरकारको आलोचना हुन थालेपछि सरकारको भविष्यलाई विभिन्न टिका टिप्पणी भइरहेका छन् । यही अवस्थामा सोमबार बसेको एमाले सचिवालय बैठकमा सत्ता साझेदार दल कांग्रेसका नेताहरूबाट सरकारबारे भइरहेका टिप्पणीबारे छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारबारे बाहिर भइरहेका टिप्पणी र वर्तमान परिस्थितिका बारेमा संक्षिप्त विश्लेषण सुनाएका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेसभित्र व्यक्ति विशेषले गरेका टिप्पणीको खासै अर्थ नहुने भएकाले सरकार र गठबन्धन दायाँबायाँ नहुने आश्वस्त पारेका थिए ।
‘शेरबहादुर देउवाजी सहमतिप्रति दृढ हुनुहुन्छ । हामी पनि सहमतिमा दृढ छौ त्यसैले अहिले जे हल्ला भएको छ त्यसबाट तर्सिन पर्ने छैन किनभने उहाँ ९देउवा० दृढ भएसम्म समझदारी तलमाथि हुँदैन, हुने पनि म देख्दिनँ’, ओलीले सचिवालय बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘कांग्रेस एमालेबिचको विश्वासको आधार टुटेको छैन, बरु बलियो भइरहेको छ । केही असमझदारी भए बसेर छलफल गर्न सकिन्छ ।’
ती नेताका अनुसार कांग्रेसको एउटा पङ्क्ति सरकारप्रति पहिलाबाटै आलोचनामा उत्रिए पनि त्यसले सरकारलाई सजग बनाएको र त्यसैका कारण सरकार तलमाथि हुने अवस्था नभएकोमा प्रधानमन्त्री विश्वस्त देखिन्थे ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवा सहमतिप्रति दृढ रहेको भन्दै उनले यताउता नगरेसम्म सरकार नढल्ने बताए । तर देउवा यताउता भएमा कसैले रोकेर समेत रोक्न नसकिने पाण्डेको भनाइ छ ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रमुख प्रतिपक्ष दलको नेता हो । उहाँले सरकार ढल्छ भन्नुभयो । विपक्षीको हैसियतले उहाँले त्यसो भन्नु स्वाभाविक नै हो’, पाण्डेले रातोपाटीसँग भने, ‘कांग्रेसभित्रका विभिन्न व्यक्तिहरूले असन्तुष्टि र फरक धारणा राख्नु पनि उनीहरूको नेचर अनुसार स्वाभाविक नै हो । तर कांग्रेस सभापति शेरबहादुर देउवा सहमतिमा दृढ हुनुहुन्छ । मेरो विचारमा सभापतिको हिसाबले उहाँ यताउता नभएसम्म यो सरकार ढल्दैन ।’
उनले सभापति देउवामै विचलन आएमा अरू कसैले केही भने पनि सरकार नटिक्ने पाण्डेको भनाइ छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रभावकारी होस भन्ने कांग्रेस नेताहरूको भनाइलाई अन्यथा लिन नहुने बताए ।
सरकारको काम प्रभावकारी होस्,गति बढाओस् भनेर आउने टिप्पणीलाई हामीले सकारात्मक रूपमै लिएका छौँ’, उपमहासचिव ज्ञवालीले भने, ‘त्यसलाई अन्यथा लिएका छैनौँ । सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेस एमालेका शीर्ष नेताबिच दुई दलीय संयन्त्र बनेको भन्दै ज्ञवालीले कुनै समस्या भए संयन्त्रभित्रै छलफल गर्न सकिने बताए ।
हामीले अनेकै तहमा संयन्त्र बनाएका छौँ । त्यो असल मनसायका साथ भनेको होला भन्ने बुझेका छौँ’, ज्ञवालीको भनाइ छ । एमालेले कांग्रेस नेताहरूको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको आशङ्का गरेको छ ।











प्रतिक्रिया