गृह पृष्ठ

देउसाका जनताले पाए पिउने पानीको अभावबाट मुक्ति


६ असार २०८०, बुधबार ००:००


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका देउसास्थित वडा नम्बर ७ र ८ का जनताले पिउने पानीको अभावबाट मुक्ति पाएका छन् । सरकारको १३ लाख रुपैयाँ आर्थिक सहयोग र स्थानीयको अथक श्रमदानबाट दुई वडाका करिव २ सय घर परिवारले खानेपानीको सुविधा पाएका हुन् । खानेपानीबाट हाहाकार बनेका स्थानीयले उक्त योजना करिव ३ हप्तामै पूरा गरेका थिए ।

गत चैत्रमै सम्पन्न भएको उक्त खानेपानी आयोजनालाई थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले उद्घाटन गरेका छन् । सोमबार देउसा बुढीडाँडा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राईले उद्घाटन गर्दै खानेपानीको प्रत्याभूति गर्न पाएकोमा देउसाका जनतालाई खुसी व्यक्त गरेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकाकै वडा नम्बर १ स्थिति घुर्मिसे मुहानबाट ९ किलोमिटर तल गाउँहरुमा खानेपानी व्यवस्थापन गरिएको गाउँपालिकका प्रवक्ता एवं ७ नम्बर वडाअध्यक्ष भोजराज कार्कीले जानकारी दिए । उक्त आयोजनाबाट बुढीडाँडा, रोक्ती, दो, साउने, खोस्का लगायतका गाउँका स्थानीयहरुले खानेपानी समस्याको दीगो समाधान पाएका हुन् । यहाँका कतिपय असाहय र असक्तहरुले पिउने पानी समेत किनेर प्रयोग गर्न विवश थिए ।

प्रकाशित : ६ असार २०८०, बुधबार ००:००