काठमाडौं, ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् ।
सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो ।
तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् । मृतकका आफन्त कुमार राईले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।
‘उहाँ तीन–चार पटक फलोअपमा आउनुभयो । त्यसबेला चिकित्सकले इन्फेक्सन भयो भनेर मिर्गौला निकालेका रहेछन्’, राईले प्रश्न गरे, ‘प्रत्यारोपण गर्दा भिडियो रेकर्डदेखि परिवारको सही सबै चाहिने, तर निकाल्दादेखि केही परामर्श गर्नुपर्दैन ?
उनले अगाडि भने, ‘कसरी मिर्गौलामा इन्फेक्सन भयो ? केही जानकारी दिएको छैन । अस्पताल प्रशासनले मिर्गौला नै गायब बनाएको छ, जबसम्म हामीलाई चित्तबुझ्दो जवाफ आउँदैन लास बुझ्दैनौं ।’
मिर्गौला गायब बनाएको आरोप
इलामको चुलाचुली गाउँपालिका वडा–४ का लिम्बू गाउँमै खेतीपाती गर्थे । उनका श्रीमती र दुई छोरा छन् । करिब एक वर्ष अगाडि झापाको बीएण्ड सी मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौलामा समस्या देखिएपछि चिकित्सकले मेडिसिटी अस्पतालमा जाँच गराउन सुझाव दिए ।
मेडिसिटी अस्पतालका चिकित्सकको परामर्श अनुसार नै ६ असोजमा मिर्गौला प्रत्यारोपण भयो । आफन्तका अनुसार प्रत्यारोपण गरेको केही दिनकै अन्तरालमा पिसाबबाट रगत जाने, आँखा नदेख्ने, खुट्टा राम्रोसँग टेक्न नसक्ने जस्ता समस्या देखिन थाल्यो । लिम्बु हरेक हप्ता फलोअप उपचारका लागि अस्पताल गइरहे । तर उनको स्वास्थ्य समस्या झन् झन् बढ्दै गयो ।
आफन्तका अनुसार २१ कात्तिकमा अस्पताल पुगेका लिम्बूको मिर्गौलामा इन्फेक्सन देखिएको भन्दै चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौला शरीरबाट बाहिर निकालेका थिए । त्यस समयमा उनकी श्रीमती मात्रै अस्पतालमा थिइन् ।
मिर्गौलामा के कारणले इन्फेक्सन भयो भन्ने रिपोर्ट अस्पतालले नदिएको आफन्तको दाबी छ । ‘राम्रोसँग परामर्श नगरी मिर्गौला झिकिएको रहेछ’, मृतकका आफन्त राई भन्छन्, ‘त्यो मिर्गौला अस्पतालले हामीलाई अहिलेसम्म देखाइएको छैन ।’
त्यसपछि लिम्बूले अस्पताल नजिकै डेरा लिएर डायलाइसिस गर्न थाले । तर ३० कात्तिकमा लिम्बूको एक्कासी स्वास्थ्य समस्या देखियो । परिवारले राति ३ बजे मेडिसिटी अस्पताल पुर्याए । तर उनको उपचार प्रक्रिया सुरू नभएको आफन्तको आरोप छ ।
‘धेरै जना विशेषज्ञले छलफल भएपछि मात्रै उपचार सुरू हुने भन्दै राति ३ बजे पुगेको बिरामीलाई बिहान ११ बजे आईसीयूमा लैजानुभयो’, राई भन्छन् । तर उपचारको क्रममा १ मंसिरमा लिम्बुको मृत्यु भयो ।
‘उहाँहरुले कि त गल्ती गर्नुभयो, कि मिर्गौला बेचेर खानुभएको छ’, राई भन्छन्, ‘अस्पतालले सहमति गरौं भन्दै आएको छ । हामीलाई चित्तबुझ्दो जवाफ र उचित क्षतिपूर्ति नपाएसम्म लास उठाउँदैनौं । उनको उपचारमा करिब झण्डै २५ लाख रुपैयाँ खर्च भएको आफन्तको भनाइ छ ।
चिकित्सक भन्छन् : त्रुटि भएको छैन
उपचारमा संलग्न चिकित्सकले भने आफन्तले लगाएको आरोप गलत भएको दाबी गरे । मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले सफलतापूर्वक प्रत्यारोपण भएको बताउँछन् ।
‘मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्य अवस्था सामान्य भएपछि बिरामीलाई घर पठाइयो । बेला–बेलामा फलोअपमा आउनुभयो’, उपचारमा समलग्न चिकित्सक काफ्ले भन्छन्, ‘एक्कासी मिर्गौलाबाट रगत बन्न थाल्यो । मिर्गौला जोडिएको नली फुल्दै गयो ।’
उक्त नली अपरेशन गरेर जोगाउन खोज्दा सम्भव नभएको उनले बताए । डा. काफ्लेका अनुसार रगत लैजाने नलीलाई काटेर मिलाउन सम्भव नभएपछि प्रत्यारोपण गरिएको मिर्गौला निकाल्नुपरेको हो ।
बिरामीको ज्यान जोगाउने विकल्पको रुपमा मिर्गौला निकाल्न परिवारकै सदस्यसँग परामर्श भएको उनले दाबी गरे । नली फुटेर रगत बगिरहेको थियो । मिर्गौला ननिकाल्दा ज्यान जाने अवस्था आयो’, डा. काफ्लेले भने, ‘बिरामीलाई बचाउनका लागि पनि हामीले मिर्गौला निकाल्ने निर्णय गरौं ।’
त्यसपछि बिरामीको डायलाइसिस प्रक्रिया सुरू भयो । तर बिरामीको इन्फेक्सन शरीरभर फैलिएको र उपचारका क्रममा बचाउन सम्भव नभएको डा. काफ्लेले बताए । पेटमा सिभियर इन्फेक्सन भएर बिरामी अस्पताल आउनुभयो । आईसीयूमा राखेर उपचार गरियो । तर बिरामीलाई बचाउन सकिएन’, डा. काफ्ले भन्छन् ।
उनले भने, ‘उपचारमा लापबाही, त्रुटि केही भएको छैन । उपचार सही समयमा भयो, जे गरियो ठीकसँग गरियो, अहिले घटनालाई मानवीयताको रुपमा मोड्न खोजियो । प्रत्यारोपण गरेको व्यक्तिको पनि संक्रमण भएमा मृत्यु हुनसक्ने डा. काफ्लेले बताए ।
त्यसबेला परामर्श गर्दाको मानिस अहिले छैन । अहिले अञ्जानका मानिस आएर आन्दोलन गरिरहेका छन्’, उनले भने । मिर्गौला प्रत्यारोपणमा हुने दुर्लभ समस्या लिम्बूमा देखिएको डा. काफ्लेको भनाइ छ । ‘उहाँहरुलाई लापरवाही लागेको खण्डमा कानुनी प्रक्रियामा जान सक्नुहुन्छ’, डा. काफ्ले भन्छन् ।











प्रतिक्रिया