Breaking News Post

बुङमा महाकुलुङ ग्रामीण आँखा केन्द्रको उद्घाटन,ज्येष्ठ नागरिकबाट परीक्षण प्रारम्भ


९ पुस २०८१, मंगलबार ००:००


महाकुलुङ गाउँपालिकाको महाकुलुङ आधारभूत अस्पताल बुङमा महाकुलुङ ग्रामीण आँखा केन्द्रको उद्घाटन गरिएको छ । बुङस्थित अस्पताल भवनमा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङ र तिलगंगा आँखा प्रतिस्ठानका वरिष्ठ अधिकृत हरि कार्कीले संयुक्त रूपमा रिवन काटेपछि मंगलबार स्थानीय ज्येष्ठ नागरिक दुर्गाजीना राईको आँखा परीक्षण गरेर सेवाको प्रारम्भ गरिएको हो।

त्यसअघि गाउँपालिका अध्यक्ष कुलुङले अस्पताल परिसरमा आयोजित कार्यक्रममा ब्यानर पढेर आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले भूगोलका हिसाबले जिल्लाको कुनु ठाउँमा पर्ने महाकुलुङमा १५ शैय्याको अस्पताल स्थापना भएर त्यसमा सम्पूर्ण सेवाहरु थप हुँदै जानु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुलुङले निबर्तमान अध्यक्ष सागर किराँतीको पालामा भवन निर्माण भएर केहि सेवा प्रारम्भ भएपनि आफू आएपछि यसको निर्माण कार्य सम्पन्न गर्ने र आवश्यकता अनुसार सेवा थप गर्नेतर्फ आफू क्रियाशील रहेको बताउनुभयो।

आफ्नै पहल र प्रयत्नमा यसअघि दन्त सेवा सुरु भएको जानकारी दिँदै अध्यक्ष कुलुङले आजबाट थप भएको आँखा उपचार सेवाले स्थानीय जनता राहत दिने बताउनुभयो। जनतालाई आँखा उपचार सेवा दिने उद्देश्यले पालिकामा आँखा शिबिर सञ्चालन गर्दा ठुलो खर्च भएपछि आँखा उपचार केन्द्र स्थापना गर्ने सोच बनाएर आफुले तिलगंगा आँखा प्रतिष्ठानसंग समन्वय गरेको स्मरण गर्दै अध्यक्ष कुलुङले भन्नुभयो,-‘यो स्थापना भएपछि सामान्य आँखा रोगको उपचार गर्न फाप्लु र तिलगंगा पुग्नुपर्ने समस्याको अन्त्य भएको मात्रै छैन, समय र पैसाको बचत समेत भएको छ।

वहाँले आँखा,दाँतसहित अन्य सेवाहरु अस्पतालबाट गुणस्तरीय ढंगबाट प्रदान भइ रहेकाले पहिले आफ्नै अस्पतालमा सेवा लिन र सम्भव नभएमात्रै रेफर लिएर अन्य अस्पताल जान गाउँपालिकाका स्थानीयहरुलाई आग्रह गर्नुभयो।स्वास्थ्य सेवाका हिसाबले महाकुलुङ प्राथमिक अस्पताललाई यस क्षेत्रको उदाहरणीय स्वास्थ्य संस्था बनाउन आफू कृयाशील रहेको वहाँको भनाई थियो।

कार्यक्रमका प्रमुख अतिथि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अधिकृत हरि कार्कीले आजबाट महाकुलुङमा सुरु भएको आँखा उपचार केन्द्रमा परीक्षणका लागि अत्याधुनिक उपकरण रहेको जानकारी दिँदै अपरेसन बाहेक झण्डै असी प्रतिशत उपचार हुने बताउनुभयो।

अन्य रोग जस्तो एम्बुलेन्स चढेर अस्पताल जानुपर्ने अवस्था आँखा रोगीहरुको नहुने बताउँदै वहाँले बच्चा जन्मेको एक महिनामा, विद्यालयमा अध्ययनरत बालबालिकाको बर्षमा एक पटक, ४० बर्ष उमेर पुगेका पुरुष तथा महिला र सुगरका बिरामीहरुले बर्षमा एक पटक आँखा जाँच गराउनु आवश्यक रहेको बताउनुभयो । आँखा उपचार केन्द्रको स्थायित्व र थप गुणस्तरीयताका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत वहाँले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिपना कुलुङ,प्रमुख प्रशासकीय अधिकृत खरीधन कुलुङ, वडा नं १ का वडाध्यक्ष पर्खीधन कुलुङ, वडा नं २ का वडाध्यक्ष प्रदीप कुलुङ र हिमचुली युवा एकता क्लबका अध्यक्ष निरकुमार कुलुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रमुख प्रशासकीय अधिकृत कुलुङले स्वास्थ्य,शिक्षा र आर्थिक क्षेत्रमा महाकुलुङ सोलुखुम्बुका अन्य पालिका भन्दा कमजोर नरहेको बताउँदै थप उन्नतिका लागि सबै एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो। साथै उहाँले प्राथमिक अस्पतालमा आँखा सेवा सुरु भएको जानकारी टोल टोल र घर घरसम्म दिन कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित : ९ पुस २०८१, मंगलबार ००:००