खेलकुद

अल्ट्रा ट्रेल रेसमा अन्तर्राष्ट्रिय स्तरमा सफलता पाइरहेकी सुनमाया बुढा


५ मंसिर २०८१, बुधबार ००:००


काठमाडौं, अल्ट्रा ट्रेल रेसमा अन्तर्राष्ट्रिय स्तरमा सफलता पाइरहेका नेपाली धावकमध्ये एक हुन् सुनमाया बुढा उनि दुई महिनामा उनले चीनमा भएका दुई रेसमा भाग लिइन्, दुवैमा उपाधि जितेकी उनले एउटामा कोर्स रेकर्ड राखिन् ।

सुनमायाले कात्तिकमा भएको एसियाकै प्रतिष्ठित र ठूलो साइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितिन् । कात्तिककै पहिलो साता उनले अल्ट्रा ट्रेल निन्घाई बाई युटीएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् ।

साइगुमा पानी परेकाले आयोजकले दूरी घटाउँदा आफ्नो कोर्स रेकर्डको मान्यता नपाएको सुनमायाले बताइन् । निरन्तर प्रशिक्षण गरिरहेकाले उकालो ओरालो उनका लागि खासै नौलो होइन । ‘उकालो ओरालो थियो, ट्रेलहरुमा ट्रेनिङ गरिरहेको हुनाले रेस राम्रो भयो’, उनले भनिन् ।

तर साइगु रेसको अघि निरन्तर पानी परेकाले रेस हुने वा नहुने टुङ्गो थिएन । ‘नभए के गर्ने भन्ने लागेको थियो । तर अर्को दिनमा बेलुका रेस हुने निर्णय भयो अनि ढुक्क भयो’, सुनमायाले भनिन् । निन्घाईमा पनि उनले रेकर्ड राख्छु भन्ने सोचेकी थिइन् । ‘माउन्टेनहरु सानो-सानो थियो मेरो लागि । त्यसैले रेकर्ड राख्न सजिलो भयो’, सुनमायाले भनिन् ।

उनले गत वर्ष चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि पनि जितेकी थिइन् । पछिल्लो समय सुनमायाले चीनका रेसमा राम्रो प्रदर्शन गर्दै आएकी छन् । ‘अरु ठाउँ भन्दा अलि फरक छ चीनमा । अग्लो माउन्टेन थिएन, फ्ल्याट पनि थिएन, ५०-५० थियो । ट्रेनिङ भयो भने जता पनि राम्रो हुन्छ’, सुनमायाले चीनको रेसबारे भनिन् ।

यसअघि युरोपमा जाँदा उनको ट्रेनिङ राम्रो नभएकाले एउटा रेस बीचमै छाडेकी थिइन् । ‘युरोपमा विश्वकै उत्कृष्ट धावकहरु हुन्छन् । चीनमा एलिट धावकहरु नभएकाले अली सहज भएको थियो तर कम्पिटिसन चाहीँ थियो’, सुनमायाले भनिन् ।

नेपालमा भन्दा विदेशमा बढी चर्चा

अन्य खेल जितेर आउने खेलाडीले नेपालमा धेरै चर्चा र सम्मान पाउँछन् । तर अल्ट्रा ट्रेल रेसको बारेमा नेपालमा अझै पनि धेरैलाई जानकारी छैन । सुनमायाको प्रायोजक कैलाश फुगा पनि चीनकै कम्पनी हो ।

त्यसैले उनले रेस जित्दा चीनलगायत विश्वमै चर्चा भएको थियो । ‘नेपालमा भन्दा हङकङतिर, युरोपपिर धेरैले चिन्नुहुन्छ’ सुनमायाले भनिन्, ‘किनभने नेपालमा अल्ट्रा ट्रेल रनिङ के हो भनेर अझै थाहा छैन ।’

सुनमायाले चीन र हङकङमा गरी ६-७ वटा रेसमा भाग लिइसकिन् । यस्तै युरोपमा पनि धेरै पटक सहभागी भइसकिन् । धेरै उपाधि पनि जितिसकिन् । समय लाग्छ होला हामीलाई चिन्नको लागि । फुटबल क्रिकेट धेरै भइरहन्छ नेपालमा’, उनी भन्छिन्, ‘हाम्रो ट्रेल रेस वर्षको ३-४ वटा हुन्छ त्यसमा पनि मान्छेहरु धेरै जाँदैनन् ।

बाहिरतिर ठूला इभेन्टमा एकदमै धेरै कम्पिटिसन हुन्छ । एकै इभेन्टमा ५/१० हजार धावक हुन्छ । हाम्रो १०० र ५० किमीमा १५/१६ सय जना हुन्छन् । सामान्यतथा ४२ किमी लामो दौडलाई म्याराथन भनिन्छ । यो सम्म सडकमा दौडिइन्छ । तर त्यो भन्दा पनि लामो दूरी हिमाल-पहाडमा दौडने रेसहरु अल्ट्रा ट्रेल रेसमा पर्छन् ।

‘अल्ट्रा ट्रेल रेस भनेको उकालो ओरालो गर्ने, माउन्टेन रनिङ गर्ने, ब्यागमा पानी बोक्ने, खानेकुरा बोक्ने र अनि रनिङ गर्ने हो’ उनले भनिन्, ‘५० किलोमिटरको रेस छ भने १०-१० किमीमा खानेकुरा राखिएको हुन्छ । त्यही खाने र फेरि दौडने गरिन्छ ।

प्रायोजक पाएपछि ढुक्क

सुनमायाले सुरुमा दौड सुरु गर्दा उनको कुनै प्रायोजक थिएन । अहिले उनलाई चिनियाँ कम्पनी कैलाश फुगाले प्रायोजन गरिरहेको छ । त्यसैले अहिले उनी निर्धक्क भएर रेसहरुमा सहभागी हुन पाएकी छन् ।

‘स्पोन्सर नभएका भाइ बहिनीलाई बाहिर गएर खेल्न गाह्रो हुन्छ । मसँग त स्पोन्सर छ मैले जतिखेर पनि कम्पिटिसन गर्न पाएँ ढुक्क भएँ, ट्रेनिङमा मात्र केन्द्रित भए पुग्छ’, सुनमायाले भनिन् ।

सुनमायाको व्यवस्थापन एसिया प्यासिफिक एड्भेन्चरले हेर्दै आएको छ । ‘म्यानेजर हुँदा सेड्युलहरु राम्रो बनाउनुहुन्छ । यो वर्ष कति वटा रेस गर्ने, कुन(कुन ठाउँमा जाने भनेर सबै उहाँहरुले म्यानेज गर्नुहुन्छ । मैले ट्रेनिङ मात्र गर्ने हो’, सुनमायाले भनिन् ।

केही रेस जितेपछि पुरस्कारवापत सुनमायाले राम्रो रकम पनि पाएकी छन् । तर धेरैजसो रेसमा पुरस्कार रकम भने हुँदैन । उनले यो वर्ष ११ रेसमा भाग लिएपनि केहीमा मात्र पुरस्कार थियो । ‘यसपालि चीनमा जितेको रेसमा ५ लाख पाएँ, अरुमा थिएन’, सुनमायाले भनिन् ।

उनले अहिलेसम्म पाएको ठूलो पुरस्कार भनेको फ्रान्समा भएको युटिएमबी रेसमा दोस्रो भएर हो । ‘पहिलो पटक युरोपमा दोस्रो हुँदा मैले ५ हजार युरो पाएको थिएँ । युरोपमा अलि राम्रो पुरस्कार हुन्छ’ उनले भनिन् ।

सुनमायाको ट्रेल रेस यात्रा

जुम्लाको पातरासी गाउँपालिका-२ पेरेगाउँकी सुनमाया कुनै समय घरबाट विवाह गर्नुपर्ने दबाब आएपछि भागेर दौडमा लागेकी थिइन् । सुरुमा स्कुलमा हुने विभिन्न दौड प्रतियोगितामा भाग लिएकी सुनमायाले सन् २०१५ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दौडमा दोस्रो भएपछि यसलाई निरन्तरता दिइन् ।

सन् २०१६ मा भएको मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएपछि उनको अन्तर्राष्ट्रिय दौड यात्रा पनि सुरु भयो । त्यसपछि भने सुनमायाले विश्वका विभिन्न देशमा दौडिसकेकी छन् भने धेरै पदक समेत जितेकी छन् ।

हङकङ, स्वीट्जरल्याण्ड, चीन, फ्रान्स, इटली, अस्ट्रेलिया, स्पेन लगायत देशमा गएर दौड प्रतियोगितामा सुनमायाले भाग लिइसकेकी छन् । सन् २०२१ मा थाइल्याण्डमा भएको ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

त्यसपछि उनले फ्रान्समा भएको युटिएमबी सीसीसीमा दोस्रो भएर थप चर्चा पाइन् । त्यसयता सुनमायाले एसिया र युरोपमा विभिन्न रेसहरुमा भाग लिइसकेकी छन् । सुरुमा उनलाई यो रेसको बारेमा धेरै थाहा थिएन । तर दौडन थालेपछि जित्न पनि थालिन् अनि चर्चा पनि बढ्दै गयो । अनि उनले देशको नाम चर्चित बनाइन् ।

‘२०२१ अगाडि म प्रोफेसनल धावक थिइनँ । खेलको बारेमा त्यति थाहा थिएन । सपोर्ट पनि थोरै मात्र थियो । जाने गेम खेल्ने आउने सकियो’ सुनमायाले भनिन्, ‘अहिले २०२१ पछि प्रोफेसनल तरिकाले खेलिरहेको छु ।’

उनका धेरै साथीले बिहे गरिसके । आफूले कम उमेरमा विवाह नगरेर धेरै राम्रो गरेको सुनमायालाई लाग्छ । ‘रनिङमा नलगेको भए बिहे गरेर, बच्चा जन्माएर गाउँमै जीवन बिताउँथे होला । अहिले रनिङमा लागेर धेरै ठाउँमा गेम खेल्न जान पाइरहेको छु, जे होस् अहिले खुशी लाग्छ’ सुनमाया भन्छिन् ।

सुनमायाको गाउँमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक छ । छोरालाई बढी महत्व दिइन्छ । तर आफूले ट्रेल रेसमा भाग लिन थालेपछि आमालाई छोरी जन्माएकामा नराम्रो महसुस नभएको सुनमाया बताउँछिन् । ‘घरमा आमाहरुलाई छोरी राम्रो जन्माएछु, राम्रो गरिरहेकी छे भन्ने लागेको छ । बहिनीहरु पनि रेसमा छन्’ उनले भनिन् ।

अबको लक्ष्य वर्ल्ड च्याम्पियनसिप

सुनमायाको अबको लक्ष्य भनेको वर्ल्ड च्याम्पियनसिप हो । वर्ल्ड च्याम्पियनसिप २०२५ सेप्टेम्बरमा स्पेनमा हुँदैछ । त्यसमा नेपालबाट ६ जना धावक सहभागी हुने सम्भावना छ । ‘सरकारले सहयोग गर्‍यो भने सहभागी हुन्छौँ’, उनले भनिन्, ‘सहयोग बिना भाग लिन कठिन हुन्छ । मसँग त प्रायोजक छ । त्यसैबाट पनि सहभागी हुन सक्छ । तर अरु प्रायोजक नहुने धावकका लागि सरकारले सहयोग गर्नुपर्छ ।’

सुनमायाले वर्ल्ड च्याम्पियनसिप जित्ने लक्ष्य राखेकी छन् ।

अल्ट्रा ट्रेल रेसमा नेपाली धावकहरुले हासिल गरेको उपलब्धी हेरेर सरकारले सहयोग गर्नुपर्ने उनले बताइन् । ‘सरकारले खेलाडीलाई साथ सपोर्ट हौसला दिनुपर्छ । आवश्यक परेको बेला हामी छौँ भनेर सहयोग गर्नुपर्छ’, उनी भन्छिन् ।

नयाँ आउने अल्ट्रा धावकलाई सुरुमै प्रायोजक नपाउँदा नआत्तिकन र निरन्तर मिहिनेत गर्न ल्लाह दिइन् । ‘मैले पनि ६ वर्षपछि पाएको हो । एक दिन अवश्य अवसर मिल्नेछ’, सुनमायाले भनिन् ।

प्रकाशित : ५ मंसिर २०८१, बुधबार ००:००