गृह पृष्ठ

ओखलढुङ्गाको मानेभञ्ज्याङमा सुमो दुर्घटना,गुरुङ सहित ३ जनाको मृत्यु


१७ माघ २०८१, बिहिबार ००:००


काठमाडौँ, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना भएको छ । ना. १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले बताए । सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका मायादेवी गुरुङ सहित ३ जना छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन्। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँड्दा सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो। सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन्। सुमोमा चालकसहित चार जना सवार थिए।

प्रकाशित : १७ माघ २०८१, बिहिबार ००:००