पूर्व ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै नागरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न नसकिएको आरोप लगाएका छन्। मन्त्री पदबाट राजीनामापछि ‘नागरिक संवाद’ मा पत्रकार प्रशान्त लामिछानेसँग कुरा गर्दै पुनले ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषद्मा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका हुन्।
समसामयिक राजनीतिक विषयपछि अन्त्यमा उनलाई सोधिएको थियो, ‘तपाईं ऊर्जामन्त्री भएका बेला सबै नागरिकले चाहेका कुलमान घिसिङलाई किन विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति दिनु भएन नि?’ उनले भने, ‘अहिले त यसको जवाफ सान्दर्भिक छैन। तैपनि म ऊर्जामन्त्री छँदा मैले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर गएको हुँ, नियमित च्यानलबाट पनि र म आफैंले सीधै पनि। तर कार्यान्वयन भएन।’
त्यति मात्र होइन, आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेको उनले बताए। ‘तर उहाँले मान्दै मान्नु भएन, यो कुरा क्याबिनेटका २५ जनलाई थाहा छ,’ पूर्वऊर्जामन्त्री पुनले भने, ‘यो कुरा अहिले त सान्दर्भिक छैन उहाँ (प्रधानमन्त्री ओली) काम गर्ने मान्छेलाई समेट्ने सोच भएको मानिस हैन।’ संसद् विघटन भएकै दिन नेकपा नेता पुनसहित ७ जनाले मन्त्री पदबाट राजीनामा दिएका हुन्।











प्रतिक्रिया