गृह पृष्ठ

खोटाङको ज्यामिरेबासीलाई एक महिने बाँस हस्तकला तालिम


१९ बैशाख २०८०, मंगलबार ००:००


खोटाङको ऐसेँलुखर्क गाउँपालिका ६ ज्यामिरेमा एक महिनादेखि जारी बाँसको फर्निचर तथा हस्तकलाका सामाग्री निर्माण तालिम सकिएको छ । गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत गाउँपालिकाको नम्बर ६ ज्यामिरेमा गत चैत्र १८ देखि सुरु भएको तालिम आज सोमबार सकिएको हो ।

तालिममा वडाका गरिवीको रेखामुनि रहेका बर्ग, महिला, दलित, बैदेशिक रोजगारीबाट फर्केका ९ जना ज्यामिरेबासीको सहभागीता रहेको थियो । स्थानीय स्तरमा उत्पादन भएको बाँसलाई आर्थिक समृद्धिसँग जोड्दै नागरिकको आर्थिक स्थिती उकास्न तालिमले मद्धत गर्ने गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताए ।

तालिममा स्थानीय स्तरमा उत्पादन हुन सक्ने बासलाई प्रयोग गरेर बिभिन्न दराज, टेबल, कुर्सी, टुल, ह्याङगर, कप, किस्ती लगायतका १९ प्रकारका सामाग्रीहरु बनाउन सिकाइएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना राईले जानकारी दिइन् ।

यस्तै हस्तकला सम्बन्धी सजावटका सामाग्रीहरु, कपाल बाध्ने चिम्टी, फोटो फ्रेम नेमप्लेट लगायत निर्माण गर्न सिकाइएको राईले बताइन् । तालिममा प्रशिक्षण उदयपुरका पदम नाथ फुयाँलले गरेका थिए ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार ००:००