गृह पृष्ठ

उपत्यकामा तरबारले केक काटदै गुण्डागर्दी गरेको आरोपमा ७ जना पक्राउ


२४ माघ २०८१, बिहिबार ००:००


काठमाडौँ उपत्यकामा भएका गुण्डाहरूबारे प्रहरीले निगरानी बढाएको छ । पुराना गुण्डाहरू शैली र नयाँ गुण्डाहरूबारे प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । गुण्डागर्दी नियन्त्रण गर्न पुरानो सूचीमा भएकाहरूको प्रोफाइलिङ पुनरावलोकन गर्न काम भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेक बहादुर तामाङले बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा तामाङले भने,गुण्डाहरूको प्रोफाइलिङ गर्छौँ, गर्दै छौँ । प्रोफाइलिङ गरेपछि गुण्डागर्दी गर्नेहरू विरुद्ध कारबाही गर्ने तामाङले जानकारी दिएका छन् । उनले भने, ‘त्यसपछि कारबाही सुरु गर्छौँ ।

तरबार चलाउने, गोली चलाउने र समूह बनाएर जबरजस्ती चेकमा हस्ताक्षर गराउने सबै तहका गुण्डाहरूको सूची नवीकरण गरिने तामाङको भनाई छ । बुधवार उपत्यका अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।

सामाजिक सञ्जाल ‘टिकटक’मा तरबार र खुकुरीले केक काटेको भिडियो हालेपछि उनीहरूमाथि प्रहरीले कारबाही चलाएको बताइएको छ । तरबारले केक काटेपछि भयावह अवस्था आएको एआईजी तामाङले बताए । उनले भने, ‘तरबारले केक काटेपछि सर्वसाधारणमा त्रास बढेको अवस्था छ, त्यसपछि हामीले नियन्त्रणमा लिएका हौँ ।

अनुचित लेनदेनमा पनि उनीहरू संलग्न रहेको प्रहरीको आशंका छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार आरोपीहरूले ‘शोअफ’ गरेर आतंक सिर्जना गर्दै असुली धन्दा समेत सञ्चालन गरेका हुन् ।

प्रकाशित : २४ माघ २०८१, बिहिबार ००:००