खेलकुद

यमाल ५-० एमबाप्पे : ला लिगाका दुई स्टार फाइनल पुग्न भिड्दै


३० असार २०८३, मंगलबार ००:००


काठमाडौं । एकातिर उदाउँदै गरेको युवा स्टार लामिन यमाल । अर्कोतिर आफूलाई प्रमाणित गरिसकेका र ग्रेटेस्ट फुटबलर बन्ने धुनमा रहेका किलियन एमबाप्पे । यी दुई खेलाडी एकै टोलीबाट खेल्दा कस्तो होला? त्यो त अहिले अनुमान मात्र गर्न सकिन्छ । तर यी दुई स्टार खेलाडी फरक टिमबाट खेल्दा भने पक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको अपेक्षा गर्न सकिन्छ ।

स्पानिस ला लिगामा दुई महारथी बार्सिलोना (यमाल)र रियल मड्रिड (एमबाप्पे)बाट एक अर्का विरुद्ध प्रतिस्पर्धा गरिसकेका यी दुई खेलाडी बुधबार विहान फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आमने सामने हुँदैछन् ।

विश्वकप जितिसकेका एमबाप्पेले फ्रान्सको कप्तानी गर्दैछन् भने यमाल स्पानिस टोलीको महत्वपूर्ण सदस्यको रुपमा छन् ।

एमबाप्पेले यसअघि सन् २०१८ मा पहिलो सहभागितामै फिफा विश्वकपको उपाधि जितेका थिए भने २०२२ को विश्वकपमा फ्रान्स फाइनल पुग्दा सर्वाधिक ८ गोल गरेर गोल्डेन बुटको अवार्ड पनि जितेका थिए ।

यसपटक फ्रान्स उपाधिको प्रबल दाबेदारको रुपमा छ भने एमबाप्पे ८ गोल र ३ असिस्ट सहित सर्वाधिक गोल गर्नेमा अगाडि नै छन् । साथै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बुटको दाबेदारीमा पनि एमबाप्पेको दाबेदारि बलियो छ ।

अर्कोतिर सुरुवाती खेलमा बेन्चबाट सुरु गरेका र त्यसपछि विस्तारै समय बढाउँदै गएका यमाल आफ्नो पहिलो विश्वकपमा रमाइरहेका छन् । उनले यस विश्वकपमा मात्र १ गोल गरेका छन् तर उनी स्पेन टिमको केन्द्रमा छन् र विपक्षी डिफेण्डरहरुका लागि पनि खतराको रुपमा रहन सक्छन् ।

यी दुई खेलाडीबीचको भिडन्त विश्वकपको सेमिफाइनलमा हेर्न विश्वभरका फुटबल समर्थकहरु आतुर छन् ।

शानदार फिनिसिङ र तिव्र गतिका कारण एमबाप्पे परिचित छन् । उनले फिफा विश्वकप २०२६ मा ६ खेल खेल्दै ८ गोल गरिसकेका छन् र गोल्डेन बुटको दाबेदार छन् ।

यमाल केही दिनअघि मात्रै १९ वर्ष लागेका छन् । युवा प्लेमेकर टिममा ट्याक्टिकल ब्यालेन्स मिलाउने देखि मुख्य पासहरु दिने र महत्वपूर्ण समयमा गोल गर्ने क्षमताले परिचित छन् ।

स्पेन र फ्रान्सबीचको खेलमा स्टार खेलाडी र ट्यालेन्टहरुहको कुनै कमी छैन । तर अहिले सबैको नजर भने यही दुई खेलाडीमै छ ।

यमाल विरुद्ध जितविहिन एमबाप्पे

राष्ट्रिय टिम देखि फिफा विश्वकपसम्म एमबाप्पेले विभिन्न कीर्तिमान बनाइसकेका छन् । अर्जेन्टिनाका लियोनल मेसी (२१) पछि फिफा विश्वकपमा दोस्रो धेरै गोल एमबाप्पे (२०) कै नाममा छ । उनले विश्वकप पनि जितिसके ।

तर यमालसँगको नकआउट ब्याटलमा भने एमबाप्पे धेरै पछि छन् । युरोपियन महादेशमा हुने राष्ट्रिय टिमको प्रतियोगिता देखि क्लब लेभलमा हुने प्रतियोगिताको नकआउट चरणमा यमालले एमबाप्पेलाई हराउँदै आएका छन् । अहिलेसम्मको पाँच भेटमा यमालको टिमले एमबाप्पेको टिमलाई पराजित गरेको छ ।

त्यसैले यस पटक फिफा विश्वकपको सेमिफाइनल भिडन्त रोचक हुने वाला छ । जहाँ एमबाप्पे भर्सेस यमाल हुनेछ । एमबाप्पेको आक्रमक फ्रान्स विरुद्ध यमाल सहित बल पोसेसन राखेर छोटो पास खेल्ने स्पेनबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा समर्थकहरुको छ ।

सन् २०२४ को युरोकप सेमिफाइनलमा यमाल सम्मिलित स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जहाँ स्पेन च्याम्पियन नै बन्यो । यस्तै सन् २०२५ को नेसन्स लिग सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई सेमिफाइनलमा पराजित गरेको थियो ।

२०२४ को युरो सेमिफाइनलमा सेपेनले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो भने २०२५ को नेसन्स कप सेमिफाइनलमा रोमाञ्चक खेलमा स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।

यस्तै क्लब लेभमा यमालको बार्सिलोनाले एमबाप्पेको रियल मड्रिडलाई २०२५ को सुपर कप फाइनल र कोपा डेल रे फाइनल अनी २०२६ को सुपरकोप फाइनलमा पराजित गरेको थियो ।

२०२५ को सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ५-२ ले पराजित गरेको थियो भने कोपा डेल रे २०२५ को फाइनल र २०२६ को सुपरकप फाइनलमा बार्सिलोनाले रियललाई समान ३-२ को अन्तरले पराजित गरेको थियो ।

लगातार पाँच खेलमा यमालले एमबाप्पेलाई पछि पारिसकेका छन् । के यमालले छैटौं पटक पनि एमबाप्पेलाई पराजित गर्लान् वा एमबाप्पे यस पटक यमाल विरुद्ध बदला लिँदै फ्रान्सलाई लगातार तेस्रो पटक फाइनल पुर्‍याउलान् त्यो बहुप्रतिक्षित बनेको छ ।

छैटौं प्रयासमा सफल होलान् एमबाप्पे?

वर्तमान समयमा एमबाप्पे विश्वक फुटबलमा स्टार खेलाडीको रुपमा छन् । गत सिजन रियल मड्रिडका लागि ४४ खेलमा ४२ गोल गरेका उनी ला लिगा र च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोलकर्ता बनेका थिए । यस्तै २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका एमबाप्पे यस पटक पनि सर्वाधिक गोलकर्तामा अगाडि नै छन् ।

यस पटक अर्जेन्टिनाका कप्तान लियोनल मेसी र एमबाप्पेबीच टक्कर छ ।

तर एमबाप्पे विरुद्ध नकआउट चरणको खेल जित्न नसकेका एमबाप्पे यस पटक सफल होलान् त? उसमान डेम्बेले, माइकल ओलिसे देखि ब्राडली बार्कोला, एड्रिएन राबिओट लगायत खेलाडीको साथमा एमबाप्पेको प्रदर्शन झन् निखारिएको देखिएको छ । २७ वर्षीय एमबाप्पेले ओलिभर जिरुडको नाामा रहेको फ्रान्सको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत तोडिसकेका छन् १०४ खेलमा ६४ गोल गरेका छन् ।

अर्कोतर्फ वर्तमान समयमा स्टार युवा फरवार्डको रुपमा यमाल उदाएका छन् । उनले युवा उमेरमै विभिन्न कीर्तिमान बनाउने देखि स्पेनको टिमबाट युरोकप उपाधि समेत जितिसकेका छन् । २०२३-२४ को सिजनमा बार्सिलोनाबाट अवसर पाएका यमालले २०२४ मै युरो कप जिते । जसरी एमबाप्पेले २०१८ मा १९ वर्षको उमेरमै विश्वकप जितेका थिए ठिक त्यसैगरी यमालको उदय पनि पछिल्लो वर्षहरुमा भइरहेको छ । यमा युरोकप जित्दा उत्कृष्ट युवा खेलाडी समेत बनेका थिए ।

युवा उमेरमै धेरै सफलता पाइसक्दा यमालसँग अपेक्षा पनि बढेको छ । तर यमाललाई बार्सिलोनामा अवसर दिएका क्लबकै पूर्व लेजेण्ड तथा प्रशिक्षक जाभी भने यमाल क्षमतावान भएपनि उनको उमेरलाई बिर्सन नहुने र धेरै अपेक्षा गरिरहेको बताउँछन् ।

प्रकाशित : ३० असार २०८३, मंगलबार ००:००