गृह पृष्ठ

समानीकरण अनुदान शतप्रतिशत निकासा दिन अध्यक्ष राईले सरकारसंग आग्रह


१७ बैशाख २०८०, आइतबार ००:००


थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारलाई दिनुपर्ने समानीकरण अनुदान शतप्रतिशत निकासा दिन सरकारसंग आग्रह गरेका छन् ।
बैशाख १२ गतेको मन्त्रीपरिषद बैठकले गरेको स्थानीय सरकारलाई दिनुपर्ने चौथो किस्ताको समानीकरण अनुदानको ५०% रकम कटौती गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष राईले सरकारसंँग सो आग्रह गरेका हुन्।

काम सम्पन्न गरेर भुक्तानी दिने बेला गरिएको यो निर्णय गलत र वित्तीय संघीयताको मर्म विपरीत भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्,-‘अरु अनावश्यक खर्च कटौती गरेर वा आन्तरिक ऋण उठाएरै भएपनि स्थानीय सरकारलाई दिनुपर्ने अनुदान शतप्रतिशत निकासा दिन जोडदार माग गर्दछु।’

मन्त्रीपरिषदले गरेको सो निर्णय अनुसार अर्थ मन्त्रालयको बित्तीय संघीयता समन्वय महाशाखाले बैशाख १४ गते बित्तीय समानीकरण अनुदान रकम बिनियोजन ऐन,२०७९ को दफा ४ को उपदफा (३) बमोजिम हाललाई पचास प्रतिशतले हुन आउने रकम प्रदेश तर्फ ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहलाई १३ अर्ब २० करोड १५ लाख मात्र हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयमार्फत बजेट कार्यान्वयन महाशाखालाई निर्देशन दिएको थियो ।

प्रकाशित : १७ बैशाख २०८०, आइतबार ००:००