वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा जेठको तुलनामा असारमा ०.०७७५ प्रतिशत बिन्दुले घटेको हो । जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.३४३ प्रतिशत रहेकोमा असारमा ४.२६५ प्रतिशतमा झरेको हो ।
यो ब्याजदर वैशाख महिनाको मूल्यवृद्धिभन्दा पनि कम हो । वैशाखको मूल्य वृद्धि ५.०४ प्रतिशत छ । कुनै पनि बैंकले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ४.७५ प्रतिशतभन्दा बढी छैन, तर मूल्यवृद्धि ५ प्रतिशत बढी छ ।
अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ३.९ देखि साढे ४ प्रतिशतसम्म छ । जेठको तुलनामा असारमा ब्याजदर घटाएका ७ बैंकमा कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एसिया, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्सियल र एनएमबी छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ । यसरी पैसा खिच्दा केन्द्रीय बैंकले अधिकतम २.७५ प्रतिशत ब्याजदर दिदै आएको छ ।
व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूले दिने अधिकतम ब्याजदर
| बैंक | जेठको ब्याजदर | असारको ब्याजदर |
| कृषि विकास | ४.१५ | ४.१५ |
| सिटिजन्स | ४.१० | ४.१० |
| एभरेस्ट | ४.०५ | ४.०५ |
| ग्लोबल आईएमई | ४.५० | ४.५० |
| हिमालयन | ४.२५ | ४.०० |
| इन्भेस्टमेन्ट मेगा | ४.५० | ४.५० |
| कुमारी | ३.९६ | ३.९१ |
| लक्ष्मी सनराइज | ४.५० | ४.०० |
| माछापुच्छ्रे | ४.५० | ४.५० |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ४.२५ | ४.२५ |
| नेपाल एसबीआई | ४.२५ | ४.२५ |
| एनआईसी एसिया | ४.५० | ४.०० |
| एनएमबी | ४.८० | ४.७५ |
| प्राइम कमर्सियल | ४.१५ | ४.०० |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ४.७५ | ४.७५ |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ४.०५ | ४.०५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.०० | ३.९५ |










प्रतिक्रिया